June 22, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

वन क्षेत्रमै देउथान मन्दिर निर्माण, अनुमतिबिनै काम अघि बढाएको आरोप

गोदावरी नगरपालिका–५ मा वन क्षेत्रभित्र देउथान मन्दिर निर्माण कार्य सुरु गरिएको विषयले चर्चा पाएको छ । देशभर सार्वजनिक स्थानमा बनेका अवैध संरचना हटाउने अभियान चलिरहेका बेला वन क्षेत्रमै निर्माण कार्य अघि बढाइएपछि स्थानीयस्तरमा प्रश्न उठ्न थालेको हो ।
वडा नं. ५ का अध्यक्ष सुद्दिराम चौधरीका अनुसार निर्माण कार्य अघि बढाउन उपभोक्ता समिति मार्फत डिभिजन वन कार्यालयसँग समन्वय गरेर आवश्यक अनुमति लिनुपर्ने थियो । उनले वनसँग सहकार्य गरेर मात्रै काम अगाडि बढाउन भनिएको बताए ।
यता सम्बन्धित वनका अध्यक्ष अमृत चौधरीले भने वनसँग कुनै अनुमति नलिइकनै निर्माण कार्य सुरु गरिएको जानकारी दिए । उनका अनुसार उक्त स्थान वनको खाली क्षेत्र हो, जहाँ नजिकै पशु चौपायाका लागि गौशाला समेत निर्माण गरिएको छ र सोही क्षेत्रमा देउथान बनाउन लागिएको हो ।
वन ऐन अनुसार वन क्षेत्रभित्र बाटोमा परेको एउटा रुख काट्न समेत अनुमति आवश्यक पर्ने व्यवस्था रहेको छ भने अन्य संरचना निर्माण गर्नका लागि झन् अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने देखिन्छ । वनका अध्यक्ष चौधरीले हाल निर्माण कार्य तत्काल रोक्न लगाई आवश्यक प्रक्रिया अघि बढाइने बताए ।
वडा अध्यक्ष चौधरीका अनुसार प्रदेश सरकारले देउथान मन्दिर निर्माणका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

The post वन क्षेत्रमै देउथान मन्दिर निर्माण, अनुमतिबिनै काम अघि बढाएको आरोप appeared first on .

Copyright © All rights reserved. | Newsphere by AF themes.