कञ्चनपुरको बेलौरीमा ‘बेलौरी’ तोरी तेल’ उद्योग उद्घाटन

कञ्चनपुर: सोमबार बेलौरी नगरपालिका को आर्थिक सहयोग मा र सम्झौता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा आयोजित बेलौरी तोरीको तेल ब्राण्डिङ्ग, लेबलिङ्ग तथा प्याकेजिङ्ग उद्योग समुद्घाटन कार्यक्रम २०८० सम्पन्न भएको छ।

बेलौरी नगरपालिका कार्यालयको अनुदान सहयोगमा बेलौरीस्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ‘बेलौरी’ तोरीको तेल उद्योग सञ्चालनमा ल्याएको हो। बेलौरी नगरपालिका वडा नम्बर ४ नयाँ रिछाहामा शुद्ध तोरीको तेल उद्योग सञ्चालनमा ल्याइएको छ। हिजो औपचारिक कार्यक्रम आयोजना गरी बेलौरी तोरीको तेल ब्राण्डिङ्ग, लेबलिङ्ग तथा प्याकेजिङ्ग उद्योगको उद्घाटन गरिएको छ।

कञ्चनपुर जिल्लामै प्रशोधन सहितको शुद्ध तोरीको तेल उत्पादन गर्ने यो पहिलो उद्योग भएको बेलौरी नगरपालिका को दाबी छ । झण्डै रु ३० लाख लागतमा तोरीको तेल उद्योग सञ्चालनमा ल्याइएको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले जानकारी दिएका छन्। बेलौरी नगरपालिका कार्यालयको रु. १५ लाख, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको रु. १० लाख र सम्झौता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रु. ५ लाख गरी जम्मा रु. ३० लाखको लगानी रहेको बताइएको छ।

 

भारतसँग सीमा जोडिएको क्षेत्र भएकोले भारतीय बजार बाट भित्रिने अखाद्य तेलको उपभोग बढिरहेको बेला नागरिकको स्वास्थ्य र कृषि उत्पादनलाई मध्यनजर गर्दै उद्योग सञ्चालन गरिएको सम्झौता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सीता चौधरीले बताए। पछिल्लो समयमा कञ्चनपुरको दक्षिणी क्षेत्रमा तोरी खेती क्रमिक रूपमा बढ्दै गएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ। कच्चा पदार्थको अभाव हुन नदिन किसानलाई नगरपालिका मार्फत तोरी उत्पादनका लागि प्रवर्द्धनात्मक कार्यक्रम गर्ने नगरपालिकाको योजना छ। किसानलाई बिउबिजनदेखि अनुदानका कार्यक्रम सञ्चालन गरेर तोरी उत्पादनलाई प्रोत्साहन गरिने नगरपालिकाको कृषि विकास शाखाका संयोजक सुमनराज जोशीले बताए।

कञ्चनपुर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेमसिंह भाटले उद्योग सञ्चालनमा आएसँगै किसान र आम उपभोक्ताबिच सम्बन्ध विस्तारदेखि स्वदेशी बस्तु तथा सेवा उत्पादन, बजारीकरण र प्रवर्द्धन हुने बताए। दैनिक पाँच सय लिटर तेल उत्पादन गर्ने क्षमताको मेसिन सञ्चालनमा छ। ‘बेलौरी’ तोरीको तेल उपभोग गर्न नागरिक प्रतीक्षारत छन्।

उद्घाटनमा सभाअध्यक्ष सम्झौता बहुउद्देश्यीय सहकारी अध्यक्ष सीता चौधरी, प्रमुख अतिथी सु.प प्रदेश सरकार सभामुख भिम बहादुर भण्डारी, विशिष्ट अतिथी प्रदेश सभा सदस्य देवान सिह बिष्ट , विशिष्ट अतिथी बेलौरी नगरपालिका का नगर प्रमुख पोतिलाल चौधरी, उप-नगर प्रमुख जोगराम चौधरी, प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थी, बेलौरी नगरपालिका सबै वडा अध्यक्ष, नगर प्रवक्ता हर्क बहादुर भुल निडस नेपाल का अध्यक्ष दुर्गा देवी खरेल सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति देखिएको थियो।

Facebook Comments Box