June 25, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

लालझाडीमा वृहत् निःशुल्क एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न: पालिकाको जनमुखी कार्यको स्थानीयद्वारा खुल्ला प्रशंसा

लालझाडी, ११ असार: कञ्चनपुरको लालझाडी गाउँपालिकामा आज आयोजित एक दिने वृहत् ‘निःशुल्क एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर’ भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। लालझाडी गाउँपालिकाको आयोजना तथा केयरटेकर हस्पिटल प्रा.लि. धनगढी, कैलालीको प्राविधिक सहयोगमा लालझाडी वडा नं. ०३, नन्दगाउँस्थित लालझाडी आधारभूत अस्पतालमा शिविर सञ्चालन गरिएको थियो। ग्रामीण क्षेत्रका नागरिकहरूलाई घरदैलोमै प्रत्यक्ष रूपमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले आयोजित उक्त शिविर बिहान १०:०० बजेदेखि अपराह्न ०४:०० बजेसम्म सञ्चालन भएको थियो।शिविरको उद्घाटन कार्यक्रम लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा अतिथिका रूपमा केयरटेकर हस्पिटल प्रा.लि.का उत्सव श्रेष्ठ तथा डा. श्री मिन दर्लामी, गौरीशंकर हस्पिटलका डा. रतन एस.के. र डा. नर्बु लामा रहेका थिए भने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री राज बहादुर सार्की, लालझाडी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरी, लालझाडी आधारभूत अस्पतालका डा. गुरुप्रसाद चौधरी लगायत जनप्रतिनिधिहरू स्थानीय पत्रकारहरू, गाउँपालिकाका कर्मचारी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको समेत गरि स्थानीय सर्वसाधारणको राम्रो सहभागिता रहेको थियो। उक्त विशेष समारोहमा अमृता राना र गंगा देवी चौधरीलाई ब्याच वितरण गरेका थिए भने समग्र कार्यक्रमको कुशलतापूर्वक सञ्चालन जन स्वास्थ्य निरीक्षक दशरथ रानाले गरेका थिए ।

​लगभग ६० प्रतिशत जति जनसंख्या आदिवासी राना र थारु समुदायको रहेको यस लालझाडी गाउँपालिकाका अधिकांश विपन्न, पिछडिएका, गरिब तथा कृषक समुदायका पालिकाबासीहरूले शिविरमा सहभागी भई विशेषज्ञ सेवाको प्रत्यक्ष लाभ उठाएका छन्। स्वास्थ्य शिविरमा ६८ जना पुरुष र १३५ जना महिलाको स्वास्थ्य परीक्षण चेकजाँच, उपचार गरी आवश्यक निःशुल्क औषधि समेत वितरण गरिएको तथा आवश्यक सल्लाह, सुझाव र परामर्श समेत प्रदान गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

धनगढी कैलालीका प्रतिष्ठित अस्पतालबाट आएका विशेषज्ञ चिकित्सकहरूद्वारा हाडजोर्नी तथा नसा रोग, जनरल फिजिसियन र दन्त चिकित्सा सम्बन्धी सेवाहरू निःशुल्क रूपमा प्रदान गरिएको थियो। ग्रामीण क्षेत्रका महिलाहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै पाठेघरको मुखको क्यान्सर परीक्षण (VIA Screening) तथा परामर्श सेवा समेत शिविरमा उपलब्ध गराइएको थियो।

​शिविरमा आएका बिरामीहरूका लागि आधुनिक प्रविधियुक्त सेवाहरू जस्तै निःशुल्क एक्स-रे (X-Ray), मुटुको जाँच (ECG), प्रयोगशाला (Lab) र नेबुलाइजर सेवा समेत पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइएको थियो। चिकित्सकहरूले जाँच गरी सिफारिस गरेका विभिन्न किसिमका औषधिहरू बिरामीहरूलाई शिविरस्थलमै निःशुल्क वितरण गरिनुका साथै थप उपचार आवश्यक पर्ने जटिल प्रकृतिका बिरामीहरूलाई उपयुक्त अस्पतालमा प्रेषण (Referral) गर्ने प्रबन्ध समेत मिलाइएको थियो। आफ्नै गाउँठाउँमा स्वास्थ्य जाँच, ल्याब टेस्ट र औषधि समेत निःशुल्क पाएपछि खुसी हुँदै लालझाडीका गरिब तथा विपन्न कृषक समुदायका सर्वसाधारणहरूले पालिकाले आयोजना गरेको यस जनमुखी स्वास्थ्य सेवाको खुलेर प्रशंसा र स्वागत गरेका छन्।

The post लालझाडीमा वृहत् निःशुल्क एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न: पालिकाको जनमुखी कार्यको स्थानीयद्वारा खुल्ला प्रशंसा appeared first on .

Copyright © All rights reserved. | Newsphere by AF themes.