June 30, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

शुक्लाफाँटाको चितौरामा विपन्न परिवारका लागि ९ नमूना घर निर्माण गरिँदै

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका-११ स्थित कलुवापुर चितौरामा विपन्न तथा दलित परिवारका लागि ९ वटा घर निर्माण गरिने भएको छ। सहरी विकास तथा भवन कार्यालय धनगढीले विपन्न नागरिक आवास कार्यक्रम अन्तर्गत घर निर्माण गर्न लागेको हो।

घर निर्माणका लागि कार्यालयले १५ दिने सूचना जारी गरी आवेदन माग गरेको वडा अध्यक्ष शेरबहादुर साउँदले बताए। ‘३५ परिवारले आवेदन दिएका छन्, जसमध्ये ९ परिवार छनोट गरिनेछ,’ उनले भने, ‘सहरी विकासले नै छनौट गरेर घर निर्माण गर्नेछ।’

उनले पूर्वपरराष्ट्रमन्त्री एनपी साउँद र सुदूरपश्चिम प्रदेशका पूर्वअर्थमन्त्री बहादुरसिंह थापाको पहलमा कार्यक्रम सञ्चालन हुन लागेको बताए। ५ दिनभित्र लाभग्राहीसँग सम्झौता गरी निर्माण कार्य सुरु गरिने सहरी विकास तथा भवन कार्यालयका इन्जिनियर दिनेश अवस्थीले बताए।

उनका अनुसार प्रत्येक घरमा २ कोठा, भान्सा र बरन्डा निर्माण गरिनेछ। ‘प्रत्येक घर निर्माणका लागि करिब ४ लाख रुपैयाँ खर्च लाग्छ,’ उनले भने, ‘कार्यालयले प्रतिघर ३ लाख ८८ हजार रुपैयाँ उपलब्ध गराउनेछ भने बाँकी रकम लाभग्राहीले स्वयं व्यवस्थापन गर्नुपर्ने हुन्छ।’ (सत्य दृश्यबाट)

The post शुक्लाफाँटाको चितौरामा विपन्न परिवारका लागि ९ नमूना घर निर्माण गरिँदै appeared first on .

Copyright © All rights reserved. | Newsphere by AF themes.