कञ्चनपुर: कृष्णपुर नगरपालिका नम्बर ४ मा रहेको ग्वासी समौजी विन्दावन गौशाला व्यवस्थित गर्न धार्मिक महोत्सव ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।
नगरपालिकाको कार्यालय, वडा नम्बर ४ को कार्यालय र ग्वासी समैजी गौ संरक्षण समितिको संयुक्त आयोजनामा फागुन २७ गतेदेखी चैत्र ३ गतेसम्म महायज्ञ आयोजना गर्न लागिएको शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ।

पत्रकार सम्मेलनमा बोल्दै मेयर हेम राज ओझाले छाडा चौपायाको समस्यालाई समाधान गर्नको लागि निर्माण गरिएको गौशालालाई व्यवस्थित र प्रभावकारी बनाउन महायज्ञ आयोजना गर्न लागिएको बताएका छन्।
गाईको व्यवस्थापन कार्य जटिल भएकाले यसको संरक्षणका लागि जनतालाई जागरुक गराउन आवश्यक रहेको नगर प्रमुख ओझाले बताए। उनले कृष्णपुर नगरपालिकाले गाई संरक्षणका लागि बनाइएको ऐनमा आवश्यक परिवर्तन गरेर काम गरिरहेको समेत बताए।
गौशाला संरक्षण समितिका अध्यक्ष गणेश खड्काले महायज्ञ पैसा आर्जन गर्नको लागि मात्रै नभएको उल्लेख गर्दै महायज्ञबाट स्थानीयलाई गाई नछोड्न र हाल गौशालामा भएको गाईलाई पुनः घरमा लगेर पाल्नको लागि जागरुक गर्नका निम्ति आयोजना गरिन लागेको बताए।
अहिले कृष्णपुरका विभिन्न पाँच ठाउँमा गौशाला निर्माण गरेर करिब १५ सय गाईको संरक्षण गरिएको छ ।नगरपालिकाले गाई संरक्षणका लागि यस वर्ष ४० लाख बजेट विनियोजन गरेको छ।