कञ्चनपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको विजेता भीमदत्त नगरपालिका

कञ्चनपुर: जिल्ला खेलकुद समिति कंचनपुरको आयोजना र कृष्णपुर नगरपालिकाको सह-आयोजनामा यहि माघ २५-२७ सम्म कृष्ण माविको खेलमैदानमा आयोजना भएको १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ ।

कञ्चनपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८० को विजेता भीमदत्त नगरपालिका बनेको छ।कृष्णपुर नगरमा तीनदिनसम्म सञ्चालन भएको १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि भीमदत्त नगरले जितेको हो। यसअघि भीमदत्त नगरले नै १२औँ र १३औँ संस्करणको उपाधि पनि चुमेको थियो।

कञ्चनपुर जिल्ला खेलकुद समितिका उपाध्यक्ष कैलाशचन्द्र गिरीका अनुसार भीमदत्तले १९ स्वर्ण, १२ रजत, १३ कांस्य गरी ४४ पदक पाएको छ। दोस्रो भएको शुक्लाफाँटा नगरपालिकाले १९ स्वर्ण, १० रजत र ५ कांस्य गरी २७ पदक प्राप्त गर्दा सहआयोजकसमेत रहेको कृष्णपुर नगरपालिका ८ स्वर्ण, ३ रजत र १० कांस्य गरी २१ पदकसहित तेस्रो भएको छ।

यसैगरी, दोधाराचाँदनी नगरपालिकाले ६ स्वर्ण, ७ कांस्य र ४ रजत गरी १७, पुनर्वास नगरपालिकाले ३ स्वर्ण, ५ रजत र ८ कांस्य गरी १६ तथा बेदकोट नगरपालिकाले २ स्वर्ण, ११ रजत र १५ कांस्य गरी २८ पदक हात पारेको छ। बेलौरी नगरपालिकाले २ स्वर्ण, ३ रजत र १३ कांस्य गरी १८ पदक पाउँदा बेलडाँडी र लालझाडी स्वर्णविहीन भए। बेलडाँडीले ३ रजत र ५ कांस्य गरी १३ पदक हात पार्दा लालझाडीले १ रजत र २ कांस्य गरी ३ पदकमा चित्त बुझाएको छ।

विभिन्न ६ विद्यातर्फ जिल्लाभरि ५२ स्वर्ण, ५२ रजत र ७८ कांस्य गरी १८२ पदकका लागि ९ पालिकाका झन्डै ८ सय विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो। १५ औं संस्करण को जिल्ला स्तरीय राष्ट्रपति रनिङ शुक्लाफाँटा नगरपालिकामा आयोजना हुनेछ।

Facebook Comments Box