कृष्णपुरमा २२ घरपरिवारलाई लालपुर्जा वितरण

कञ्चनपुर: कृष्णपुर नगरपालिकाद्वारा आज वडा नं. ५ मा बसोबास गर्दै आएका २२ घरपरिवारलाई जग्गाधनी प्रमाण पत्र (लालपुर्जा) वितरण गरिएको छ। लामो समयदेखि अव्यवस्थित बसोबास गर्दै आएका २२ घरपरिवारलाई नगर प्रमुख हेम राज ओझाको प्रमुख आतिथ्यमा लालपुर्जा वितरण गरिएको छ।

कार्यक्रम कृष्णपुर-५ का वडा अध्यक्ष टेक पाण्डेयको सभाअअध्यक्षतामा सुरु गरिएको थियो। लालपुर्जा वितरण कार्यक्रममा राष्ट्रिय भुमि आयोग कञ्चनपुर जिल्ला सदस्य दिल बहादुर देउवा, कृष्णपुर नगरपालिका वडा नं. ८ वडा अध्यक्ष दिनेश खडका, कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्ट लगायतको उपस्थिति रहेको थियो।

विगतका आयोगले अपुरा अधुरा कामलाई पुर्णता दिदै कृष्णपुरका जनतालाई लालपुर्जा वितरण गरेको साथै जग्गा नापजाँच को काम निरन्तर चलिरहेको र आफ्नै कार्यकाल भित्रै जनतालाई जमिनको मालिक बनाउने योजना रहेको नगर प्रमुख हेम राज ओझाले बताएका छन्।

विगतका आयोग कार्यदलको आधुरो काम सम्बन्धि कार्यविधी २०७८ बमोजिम कृष्णपुर नगरपालिका वडा नं. ५ का २२ जनाको पुर्जा तयार भई मिति २०८० चैत ६ गते मा कृष्णपुर नगरपालिकालाई हस्तान्तरण गरिएका लालपुर्जाहरुको राजस्व बुझाउन बाकि रहेका पुर्जाहरु राजस्व प्राप्त गरे पश्चात् नगरपालिकाद्वारा कृष्णपुर ५ का स्थानीयलाई लालपुर्जा वितरण गरिएको राष्ट्रिय भुमी आयोग जिल्ला सदस्य दिल बहादुर देउवाले बताएका छन्।

आफ्ना वडाबासी जनताले लालपुर्जा पाउँदा आफू निकै खुशी भएको कृष्णपुर ५ का वडा अध्यक्ष टेक पाण्डेयले बताएका छन्। लालपुर्जा पाएसंगै कृष्णपुर वडा नं. ५ का स्थानीय जनता हर्षित देखिएका छन्।

Facebook Comments Box