कृष्णपुरमा जडान भयो सुदूरपश्चिमकै पहिलो साइलेज मेसिन, व्यावसायिक किसानलाई ठूलो राहत
कृष्णपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सुदूरपश्चिम प्रदेशमै पहिलोपटक अत्याधुनिक ‘साइलेज (घाँस प्रशोधन तथा प्याकिङ) मेसिन’ सञ्चालनमा ल्याएको छ। सुदूरपश्चिम प्रदेश पशुपन्छी निर्देशनालयसँगको साझेदारीमा नगरको वडा नम्बर ५ मा स्थापित यस मेसिनको नगर प्रमुख हेमराज ओझाले उद्घाटन गरेका हुन्।
यो प्रविधिमार्फत किसानहरूले आफ्नै खेतबारीको हरियो घाँस र दूधे मकैलाई वैज्ञानिक विधिबाट प्रशोधन गरी संचय गर्न सक्नेछन्। औसतमा ६० केजीको प्याकेटमा तयार हुने यो साइलेजलाई प्याकेजिङ मा प्वाल नपरेमा तथा मुसाले नकाटेमा एकदेखि दुई वर्षसम्म सुरक्षित राख्न सकिने प्राविधिकहरूले जनाएका छन्। यसले विशेषगरी हिउँद र सुख्खा मौसममा हुने हरियो आहारको अभावलाई टार्नेछ।
नगर प्रमुख हेमराज ओझाले कृष्णपुरलाई पशुपालनमा आत्मनिर्भर बनाउने उद्देश्यले यो कदम चालिएको बताए। उनले भने, “किसानले घाँस र मकै उत्पादनमा ध्यान दिनुपर्छ, साइलेज बनाउने र प्याकिङ गर्ने सम्पूर्ण सेवा नगरपालिकाले निःशुल्क उपलब्ध गराउनेछ।” यस प्रविधिको प्रयोगबाट पशुको स्वास्थ्यमा सुधार आउने र दूध उत्पादनमा करिब १० प्रतिशतसम्म वृद्धि भई किसानको लागत घट्ने उनको विश्वास छ।
स्थानीय किसानहरूले पनि यो मेसिन सञ्चालनमा आएसँगै वर्षायामको घाँस खेर नजाने र सुख्खा महिनामा पशु आहारको चिन्ता घट्ने भन्दै खुसी व्यक्त गरेका छन्। स्थानीय र प्रदेश सरकारको यो संयुक्त प्रयासले कृष्णपुरलाई आधुनिक पशुपालनको क्षेत्रमा एउटा नमुना स्थानीय तहका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
