कृष्णपुरमा आधुनिक एआई प्रविधिबाट क्षयरोगको निःशुल्क परीक्षण: ३४५ जनाले लिए सेवा
कृष्णपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका ०८ मा आधुनिक आर्टिफिसियल इन्टेलिजेन्स (AI) प्रविधिको प्रयोग गरी क्षयरोग (TB) को प्रारम्भिक निदान सम्बन्धी एकदिने विशेष स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्वास्थ्य निर्देशनालय राजपुर, डोटीको आयोजना तथा कृष्णपुर नगरपालिकाको समन्वय र प्राविधिक सहयोगमा वडा नं. ८ स्थित रैकवार स्वास्थ्य चौकी, रैकवार बिचवामा असार २७ गते शनिबारका दिन सो शिविर सञ्चालन गरिएको हो।
शिविरमा अत्याधुनिक ‘AI Digital X-Ray’ प्रविधिमार्फत स्थानीय नागरिकहरूको छातीको जाँच गरिएको थियो। गाउँघरमै स्वास्थ्य टोली पुगेर निःशुल्क सेवा दिएपछि स्थानीय बासिन्दाहरू निकै खुसी देखिएका थिए।
शिविरको नतिजा र तथ्याङ्क
रैकवार स्वास्थ्य चौकीमा आयोजित उक्त शिविरबाट कुल ३ सय ४५ जना स्थानीय नागरिकहरू प्रत्यक्षरूपमा लाभान्वित भएका छन्। जसमा २ सय ५६ जना महिला र ८९ जना पुरुष रहेका छन्।डिजिटल एक्स-रे परीक्षणका क्रममा शङ्कास्पद देखिएका तथा थप प्रयोगशाला सुनिश्चितता आवश्यक भएका २३ जना बिरामीहरूको खकार (Sputum) को नमुना समेत सङ्कलन गरिएको छ।
उक्त नमुनाहरूलाई विस्तृत परीक्षणका लागि प्रयोगशालामा पठाइएको कृष्णपुर नगरपालिकाका क्षयरोग संयोजक दीपक रावलले जानकारी दिए। संयोजक रावलका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा मात्रै कृष्णपुर नगरपालिकाभित्र १ सय १७ जना क्षयरोगका नयाँ बिरामीहरू दर्ता भई उपचार प्रक्रियामा समेटिइसकेका छन्।
समुदायमा ‘सक्रिय बिरामी खोज’ अभियान र यसको प्रभाव
नगरपालिकाले आफ्ना विभिन्न वडाहरूमा बेलाबेलामा यस्ता स्वास्थ्य शिविरहरू निरन्तर सञ्चालन गर्दै आएको छ। यस प्रकारका घरदैलो कार्यक्रमहरूले समुदायमा लुकेका वा सामान्य लक्षण ठानेर बसेका क्षयरोगीहरूलाई प्रारम्भिक चरणमै पहिचान गर्न (Active Case Finding) मद्दत पुर्याउँछ। समयमै रोग पत्ता लाग्दा बिरामीले तत्कालै निःशुल्क औषधि र उपचार पाउने हुँदा उनीहरूलाई प्रत्यक्ष रूपमा ठूलो राहत मिल्छ। यसको अर्को महत्त्वपूर्ण पक्ष के हो भने, एकजना सङ्क्रमित समयमै उपचारमा जाँदा समुदायका अन्य स्वस्थ मानिसहरूमा रोग सर्ने जोखिम (संक्रमण दर) व्यापक रूपमा घट्न जान्छ, जसले गर्दा सिङ्गो समाज नै सुरक्षित बन्न पुग्छ।
उक्त शिविर चेक जाँच कार्यक्रममा कृष्णपुर नगरपालिका–८ का वडा अध्यक्ष एवं रैकवार स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष दिनेश खड्काले गाउँघरमै आधुनिक प्रविधिको पहुँच पुग्नु स्थानीयका लागि ठूलो अवसर भएको बताएका छ्न। उनले खोकी लाग्ने, ज्वरो आउने, तौल घट्दै जाने वा छाती दुख्ने जस्ता कुनै पनि लक्षण देखिएमा रोग लुकाएर नबस्न र तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा जाँच गराउन सबै नगरवासीमा आग्रह गरे।
उक्त शिविरलाई सफल बनाउन स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दीपेन्द्र सिंह रावल, स्वास्थ्य निर्देशनालय राजपुरका क्षयरोग फोकल पर्सन मनोज प्रसाद ओझा, कृष्णपुर नगरपालिकामा कार्यरत डाक्टर दिलिप देउवाका साथै स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उल्लेखनीय एवं सक्रिय सहभागिता रहेको थियो।
