July 20, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

चितवनमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २५/२६ जना घाइते

चितवन, साउन ३ गते।
चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २५/२६ जना यात्रु घाइते भएका छन्।
प्राप्त जानकारीअनुसार बिहान करिब ७:१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस तथा सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका यात्रुको तत्काल उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि भरतपुर अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि केही समय अवरुद्ध भएको मुग्लिङ–नारायणगढ सडकखण्ड दुर्घटनाग्रस्त सवारी हटाएपछि दुवैतर्फबाट पुनः सञ्चालनमा आएको छ।
प्रहरीले दुर्घटनाको कारण खुल्न बाँकी रहेको जनाउँदै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। यात्रु तथा चालकलाई वर्षायाममा विशेष सावधानी अपनाएर सवारी सञ्चालन गर्न आग्रह गरिएको छ।

Copyright © All rights reserved. | Newsphere by AF themes.