NATU को सामाजिक उत्तरदायित्व: ५६ पिन्ट रक्तदान, १०० जनालाई टिटी खोप
धनगढी, साउन ४ । नेपाल अटो मेकानिक्स ट्रेड युनियन (NATU) को २९औँ स्थापना दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा धनगढीस्थित कञ्चन अटो इन्जिनियरिङको प्राङ्गणमा रक्तदान, टिटी (T.T.) खोप, दन्त परीक्षण तथा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
श्रमिकहरूको स्वास्थ्य, सुरक्षा तथा सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर आयोजित कार्यक्रममा ५६ पिन्ट रगत संकलन गरिएको थियो भने १०० जनालाई टिटी खोप प्रदान गरिएको आयोजकले जनाएको छ। त्यसैगरी ५५ जनाको दन्त परीक्षण तथा अन्य सहभागीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो।
कार्यक्रमको अध्यक्षता नेपाल अटो मेकानिक्स ट्रेड युनियन (NATU) सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष अर्जुन न्यौपानेले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा जिफन्ट सहकारी प्रबन्धक बोर्डका संयोजक देव बहादुर बम सहभागी हुनुभएको थियो। विशिष्ट अतिथिहरूमा जिफन्ट सुदूरपश्चिम प्रदेश अध्यक्ष जित बहादुर मल्ल तथा सौभाग्य हस्पिटलका प्रमुख प्रोफेसर डा. सुमन श्रेष्ठको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धनगढीका कार्यालय प्रमुख धरणी प्रसाद पन्त, जिफन्ट सुदूरपश्चिम प्रदेश उपाध्यक्ष ठक्कर बहादुर बिष्ट, प्रदेश सचिव चन्द्र प्रकाश गैह्रे, NATU केन्द्रीय सचिव गोपाल के.सी., केन्द्रीय सदस्य विष्णु अधिकारी, केन्द्रीय सल्लाहकार तथा धनगढी नगर समितिका संस्थापक अध्यक्ष भक्त बहादुर थापा, सुदूरपश्चिम प्रदेशका निवर्तमान अध्यक्ष मीन कार्की, ITWAN सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्द, सुरक्षा श्रमिक सुदूरपश्चिम प्रदेश अध्यक्ष दान बहादुर चन्द, ओम्स नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष जयराज मिश्र, निवर्तमान कोषाध्यक्ष साधिन शेख लगायत विभिन्न संघ–संस्था तथा स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो।
NATU सुदूरपश्चिम प्रदेश समितिका उपाध्यक्ष पूर्ण सिंह तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन समितिका सचिव सुमित श्रेष्ठले गर्नुभएको थियो।
स्वास्थ्य शिविरमा ॐ श्री नगर डेन्टल क्लिनिककी डा. अर्चना आचार्य, सिप्रदी अटो पार्ट्स प्रा.लि.का क्षेत्रीय प्रबन्धक डम्मर चन्द, सौभाग्य हस्पिटलका इमर्जेन्सी कक्ष इन्चार्ज साजन अखेडा, नर्स बेलु जोशी, नेपाल रेडक्रस सोसाइटी धनगढीका ल्याब टेक्नोलोजिस्ट सोनिका बखरिया तथा कलावती रोकायाले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। साथै धनगढी नगरका अटो मेकानिक्स श्रमिक तथा NATU का सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देव बहादुर बमले NATU ले स्थापना कालदेखि श्रमिकहरूको हक, हित र अधिकारको संरक्षण तथा संगठन सुदृढीकरणका लागि खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। विशिष्ट अतिथि जित बहादुर मल्लले जिफन्ट र त्यसअन्तर्गतका घटक युनियनहरूबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
सौभाग्य हस्पिटलका डा. सुमन श्रेष्ठले अटो मेकानिक्स श्रमिकहरूलाई अस्पतालबाट उपलब्ध गराइने विशेष स्वास्थ्य सेवाबारे जानकारी गराउनुभयो। सिप्रदी अटो पार्ट्स प्रा.लि.का क्षेत्रीय प्रबन्धक डम्मर चन्दले असली मोटर पार्ट्सको प्रयोगले सवारीसाधनको गुणस्तर, सुरक्षा र ग्राहकको विश्वास अभिवृद्धि हुने विषयमा जानकारी दिनुभयो।
NATU का केन्द्रीय सचिव **गोपाल के.सी.**ले संगठन स्थापना गर्नुको उद्देश्य तथा श्रमिक आन्दोलनमा NATU ले पुर्याएको योगदानबारे प्रकाश पार्नुभयो। कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि २९औँ स्थापना दिवसको शुभकामना व्यक्त गर्दै श्रमिक अधिकार, सामाजिक सुरक्षा र संगठनको सुदृढीकरणका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष अर्जुन न्यौपानेले अटो मेकानिक्स श्रमिकहरूको हक, हित, सम्मान र सामाजिक सुरक्षाका लागि सबै श्रमिक एकढिक्का भएर संगठित रूपमा अघि बढ्नुपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
आयोजकका अनुसार २९औँ स्थापना दिवसका अवसरमा आयोजित रक्तदान, खोप तथा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमले श्रमिकहरूको स्वास्थ्य संरक्षणसँगै संगठनप्रतिको विश्वास, एकता र सामाजिक उत्तरदायित्वको भावनालाई थप मजबुत बनाएको छ।
