प्रविधि मैत्री र ल्याब युक्त शैक्षिक रूपान्तरणको महाअभियानलाई सफल बनाउन कञ्चन मा.वि.को विशेष अपिल!
कञ्चनपुर । “हाम्रो कञ्चन, राम्रो कञ्चन; समृद्ध शिक्षा, उज्यालो भविष्य ” यही मूल मन्त्रलाई आत्मसात गर्दै कञ्चनपुरको कृष्णपुर नगरपालिका–७, शान्तिपुरमा अवस्थित शैक्षिक धरोहर श्री कञ्चन माध्यमिक विद्यालयले प्राविधिक र व्यावहारिक शिक्षाको प्रवर्द्धनका लागि एक बृहत् शैक्षिक रूपान्तरण अभियानको घोषणा गरेको छ। विगत लामो समयदेखि यस क्षेत्रको पठनपाठनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको यस विद्यालयले वर्तमान समयको आवश्यकतालाई मध्यनजर गर्दै आधुनिक ल्याब तथा प्रविधि सुदृढीकरणका लागि देश तथा विदेशमा छरिएर रहेका पूर्वविद्यार्थी, शिक्षाप्रेमी र चन्दादाताहरूमा हार्दिक अपिल गरेको छ।
आजको २१ औँ शताब्दीको वैज्ञानिक युगमा बालबालिकालाई केवल किताबी ज्ञानमा मात्र सीमित राख्नुपर्छ भन्ने मान्यता फेरिईसकेको छ। सैद्धान्तिक शिक्षाका साथसाथै प्रविधिमैत्री र व्यावहारिक शिक्षा (Learning by Doing) प्रदान गर्नु आजको मुख्य आवश्यकता बनिसकेको छ। तर, सामुदायिक विद्यालयहरूमा स्रोत र साधनको सीमितताका कारण प्रयोगात्मक शिक्षा दिनु सधैँ एउटा ठूलो चुनौती बन्ने गरेको छ। विद्यालयमा कम्प्युटर मर्मत, शैक्षिक सामग्री खरिद तथा प्रविधि व्यवस्थापनमा देखिएको अभावले पठनपाठनमा असर पुगिरहेको यथार्थलाई महसुस गर्दै विद्यालयले तीनवटा महत्त्वाकाङ्क्षी परियोजनाहरू तत्काल अगाडि बढाउने अङ्गीकार गरेको छ।
विद्यालयको शैक्षिक गुणस्तरलाई उकास्न र विद्यार्थीहरूको प्रयोगात्मक दक्षता विकास गर्न विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक-कर्मचारी र अभिभावकहरूको संयुक्त निर्णयबाट निम्न परियोजनाहरू सञ्चालन गर्ने निर्णय गरिएको छ:
- कम्प्युटर ल्याब मर्मत तथा स्तरोन्नति: आधुनिक युगको पहिलो सर्त कम्प्युटर शिक्षालाई प्रभावकारी बनाउन पुरानिएका र बिग्रिएका कम्प्युटरहरूको मर्मत तथा नयाँ प्रविधिको जडान।
- विज्ञान प्रयोगशाला (Science Lab) सुदृढीकरण: विज्ञानका सिद्धान्तहरूलाई प्रयोगात्मक रूपमा सिकाउन आवश्यक सामाग्रीहरूको थप व्यवस्था।
- गणित प्रयोगशाला (Math Lab) निर्माण: गणित विषयलाई रमाइलो र सजिलो तरिकाले प्रयोगात्मक रूपमा सिक्ने वातावरण तयार पार्न विशेष म्याथ ल्याबको स्थापना।
यी दूरगामी महत्त्वका परियोजनाहरू सम्पन्न गर्न ठूलो आर्थिक स्रोतको आवश्यकता पर्छ, जुन विद्यालयको नियमित आन्तरिक स्रोतबाट मात्र सम्भव छैन। यही माटोमा ‘क ख ग’ सिकेर आज देश तथा विदेशका विभिन्न भूभागमा आफ्नो कर्मथलो बनाइरहनु भएका पूर्वविद्यार्थीहरू, वैदेशिक रोजगारीमा पसिना बगाइरहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू र समाजका हरेक तहमा रहेका शिक्षाप्रेमी महानुभावहरूको साथबिना यो सपना पूरा हुन सक्दैन। तपाईँले आज गर्नुहुने सानो आर्थिक वा भौतिक सहयोगले भोली गाउँका सयौँ बालबालिकाको भविष्य उज्यालो पार्नेछ। स्वैच्छिक रूपमा गरिएको यस्तो सहयोगको कदर गर्दै विद्यालयले दाताहरूको नामावली सम्मानपूर्वक अभिलेख राखी सार्वजनिक गर्नेछ।
इच्छुक महानुभावहरूले विद्यालयको आधिकारिक Fonepay QR Code स्क्यान गरेर सहजै आर्थिक सहयोग पुर्याउन सक्नुहुनेछ। यसका साथै थप जानकारी तथा समन्वयका लागि विद्यालयका जिम्मेवार व्यक्तित्वहरूसँग सीधा सम्पर्क गर्न सकिने विद्यालय परिवारले जनाएको छ।
- दीपक बहादुर विष्ट (अध्यक्ष, वि.व्य.स.): ९८५११९४५२३
- कर्म राज चौधरी (प्रधानाध्यापक): ९८४८४६१४८१
- आधिकारिक इमेल: kanchansecondary777131@gmail.com
आफ्नै गाउँठाउँको विद्यालयलाई समृद्ध बनाएर आफ्ना नानीबाबुहरू तथा भोलिका सन्ततिहरूलाई आधुनिक शिक्षाको उज्यालो दिन र विद्यालयको शैक्षिक अवस्थालाई गुणस्तरीय तरिकाले सुधार गर्न आजै सबैले आ-नो तर्फबाट हातेमालो गर्दै अगाडि बढ्नुपर्ने अवस्था आएको छ। – कञ्चन ब्युरो
