August 9, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

१ डलरको आवश्यकतामा ५० डलर गुमेपछि उठेको प्रश्न : eSewa मा होल्ड भएको रकम फिर्ता गर्न किन यति कठिन ?

काठमाडौँ— अनलाइन कारोबारमा ठगीका घटना नयाँ होइनन्। तर कुनै डिजिटल भुक्तानी सेवामार्फत गरिएको कारोबारमा विवाद उत्पन्न भएपछि रकम तत्कालै होल्ड गरियो, सम्बन्धित पक्षसँग सम्पर्कसमेत भयो र प्रहरीको प्रक्रियासमेत अघि बढाइयो, तर पीडितले लामो समयसम्म आफ्नो रकम फिर्ता पाउन नसकेको अवस्था आयो भने प्रश्न उठ्नु स्वाभाविक हुन्छ—ESewa मा होल्ड गरिएको रकम फिर्ता गर्न वास्तवमै कस्तो प्रक्रिया आवश्यक हुन्छ ? र पीडितले पटक–पटक प्रमाण दिँदा पनि किन समाधान निस्कँदैन?

यस्तै प्रश्न जन्माएको एउटा विस्तृत घटना यहाँ प्रस्तुत गर्न गइरहेका छौं। घटनामा एक सेवाग्राहीले सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएका व्यक्तिलाई eSewa बाट रकम पठाएको र त्यसपछि आफू ठगीमा परेको दाबी गरेका छन्। अझ गम्भीर कुरा के छ भने, उनले कारोबारमा समस्या देखिएलगत्तै eSewa लाई जानकारी गराएको, रकम होल्ड भएको जानकारी पाएको र पछि प्रहरीको प्रक्रियासमेत पूरा गरेको बताएका छन्। तर अन्ततः उक्त रकम फिर्ता हुन नसकेको उनको गुनासो छ।

एक डलरको समस्या समाधान गर्न खोज्दा यी सेवामा होल्ड रहन पुग्यो ५० डलर।

घटनाको सुरुवात TikTok को Content and Rewards Program अन्तर्गत प्राप्त भएको आम्दानी निकाल्ने प्रयासबाट भएको बताइएको छ। नेपालमा PayPal सम्बन्धी समस्या रहेकाले उनले नेपालबाहिर रहेका आफन्तको सहयोगमा PayPal खाता खोलेर भेरिफाइ गराएको बताएका छन्।

तर TikTok बाट आम्दानी निकाल्ने क्रममा रकमसम्बन्धी समस्या देखियो। उनको भनाइअनुसार, withdrawal असफल हुनुको कारणमा आवश्यक withdrawal fee का लागि पर्याप्त रकम नभएको किसिमको सूचना देखिएको थियो। त्यसका लागि PayPal खातामा करिब १ अमेरिकी डलर बराबरको रकम आवश्यक रहेको उनले बुझे।

यही समस्या समाधान गर्ने क्रममा उनले साथीभाइसँग सल्लाह गरे। सामाजिक सञ्जालमा PayPal तथा डिजिटल कारोबारसम्बन्धी सेवा उपलब्ध गराउने विभिन्न पेजहरू भेटिए। तीमध्ये eSewa मार्फत भुक्तानी लिन सकिने व्यक्तिको खोजीमा उनी पुगे। उनको भनाइमा, यसअघि पनि सामाजिक सञ्जालमार्फत भएको कारोबारमा समस्या पर्दा eSewa मा उजुरी गरेर रकम फिर्ता पाएको अनुभव भएकाले उनलाई eSewa बाट गरिएको कारोबार तुलनात्मक रूपमा सुरक्षित लाग्यो।

सुरुमा २० डलर, पछि अचानक थप ३० डलर

सम्पर्कमा आएका व्यक्तिसँग भएको कुराकानीमा PayPal खातामा न्यूनतम २० डलर राख्नुपर्ने आफ्नो व्यवसायको नियम भएको बताइएको उनको दाबी छ। त्यसअनुसार उनले eSewa बाट रकम पठाए।तर त्यसपछि ती व्यक्तिले फेरि तपाईँको PayPal मा न्यूनतम रकम ५० डलर भन्दा कम नगाईरहेको भन्दै थप ३० डलर मागेको उनले बताएका छन्। “केही समस्या आयो भने eSewa बाटै समाधान होला” भन्ने विश्वासमा उनले थप रकमसमेत पठाए। यसरी सुरुमा केवल १ डलर बराबरको आवश्यकता पूरा गर्न खोजेको कारोबार ५० डलरसम्म पुग्यो। तर त्यसपछि घटनाले अचानक अर्को मोड लियो। रकम प्राप्त गर्ने व्यक्तिले उनका सन्देशको जवाफ दिन छाडे। पटक–पटक सम्पर्क गर्दा पनि प्रतिक्रिया आएन। फोन गर्दा मोबाइल नम्बर बन्द रहेको जानकारी आयो। त्यसपछि उनले आफू ठगीमा परेको आशंकासहित तत्काल eSewa मा सम्पर्क गरे।

eSewa ले रकम होल्ड गर्‍यो, तर फिर्ता भएन

पीडितको भनाइअनुसार, उनले घटनाबारे eSewa लाई तत्काल जानकारी गराएपछि सम्बन्धित रकम होल्डमा राखिएको जानकारी पाए। त्योभन्दा पहिलाको केसमा यसरी उजुरी गर्दा पूरा ई सेवा एकाउन्ट नै सस्पेन्ड गरिन्थ्यो र सहमति या रिपोर्ट गर्ने मान्छेको  सहमति भइसकेपछि मात्रै उक्त ई सेवा एकाउन्ट सञ्चालन गर्न सकिने प्रक्रिया रहेको उनले सम्झिए। अब रकम होल्ड भइसकेकाले, सुरक्षित भएकाले फिर्ता हुने अपेक्षा उनको थियो।

तर त्यसपछि सुरु भयो अर्को प्रक्रिया। eSewa बाट रकम फिर्ता गर्नका लागि पहिले रकम अनहोल्ड गर्नुपर्ने र त्यसका लागि रकम प्राप्तकर्ताको अनुरोध तथा उसले आफ्नो हातमा नागरिकता बोकेको फोटो पठाउनुपर्ने जानकारी ई सेवाबाट दिइएको उनले बताएका छन्।

यही बिन्दुमा घटनाको अर्को महत्वपूर्ण पक्ष देखापर्‍यो।

रकम प्राप्त गर्ने व्यक्ति पुनः सम्पर्कमा आए। उनले आफूविरुद्ध किन उजुरी गरिए, रकम लोड गर्न केही समय लाग्ने भन्दै विभिन्न बहाना गरेको पीडितको भनाइ छ। उनले eSewa लाई रकम अनहोल्ड गर्न अनुरोधसमेत गरेको बताए पनि आफ्नै नाममा रहेको eSewa खाता नभएकाले आफ्नो परिचय पुष्टि गर्ने आवश्यक कागजात उपलब्ध गराउन नसकेको पीडितको दाबी छ। यही कारण रकम फिर्ताको प्रक्रिया अगाडि बढ्न नसकेको बताइएको छ।

खाता कसको नाममा थियो भन्ने प्रश्न

घटनाको सबैभन्दा गम्भीर पक्ष यहीँबाट सुरु हुन्छ। पीडितले सम्बन्धित eSewa खाता रकम प्राप्त गर्ने व्यक्तिकै नाममा नभएको आशंका व्यक्त गरेका छन्। उनका अनुसार, ठगीमा संलग्न व्यक्तिहरूले अरू व्यक्तिको मोबाइल नम्बर तथा अर्काको व्यवसायका कागजात प्रयोग गरी डिजिटल वालेट खाता खोल्ने वा प्रयोग गर्ने गरेको हुन सक्ने देखिन्छ।

तर यो विषय सम्बन्धित कागजात, eSewa को आन्तरिक विवरण र आधिकारिक अनुसन्धानबाट पुष्टि हुनुपर्ने विषय हो। पीडितको दाबीलाई मात्र आधार बनाएर सम्बन्धित खाता कसले सञ्चालन गरेको थियो भन्ने अन्तिम निष्कर्ष निकाल्न मिल्दैन।

यद्यपि, यही प्रश्नले eSewa को KYC तथा खाता प्रमाणीकरण प्रणालीमाथि पनि महत्वपूर्ण प्रश्न उठाउँछ—यदि खाता अरू व्यक्तिको कागजातबाट सञ्चालन भएको हो र छन् भने त्यसको वास्तविक प्रयोगकर्ता पहिचान गर्ने प्रणाली कति प्रभावकारी छ?

यो बीचमा पीडितले eSewa सँग पटक–पटक सम्पर्क गरेको बताएका छन्। उनले आफूले यसअघि पनि eSewa मार्फत विवादित कारोबारमा रकम फिर्ता पाएको अनुभव रहेको भन्दै यसपटक पनि समाधान खोजिदिन आग्रह गरे। तर eSewa बाट अन्ततः प्रहरीमार्फत प्रक्रिया अघि बढाउन र प्रहरीले अनुसन्धानबाट रकम फिर्ता गरिदिन सिफारिस गरे रकम फिर्ता गर्न सकिने सुझाव दिइएको उनको भनाइ छ।

त्यसपछि उनी प्रहरी कार्यालय पुगे। eSewa ले मागेअनुसार घटनासम्बन्धी प्रहरीको सिफारिस पठाएको Gmail (apojh*****aa@gmail.com) र चलानी नम्बर (६५४) समेत उपलब्ध गराएको उनी बताउँछन्। तर त्यसपछि पनि समस्या समाधान नभएको उनको गुनासो छ।

उनका अनुसार, ई सेवा एजेन्टहरूले योपटक फेरि अर्को बहाना बनाए, प्रहरीको पत्र वा अनुरोध आएमा eSewa ले सम्बन्धित व्यक्तिको नाम तथा ठेगानाजस्ता विवरण उपलब्ध गराउन सक्ने, तर रकम फिर्ता गराउने विषयमा भने आफूहरूले प्रत्यक्ष रूपमा निर्णय गर्न नसक्ने किसिमको जवाफ दिइयो।

आफूले भने यो घटनामा तीनचोटि प्रहरी कार्यालय पुगे पनि, सानो रकमका लागि सर्वसाधारणले पटक–पटक प्रहरी कार्यालय धाउनुपर्ने अवस्था आउनुपरेपछि यस्ता कतिपय रकमहरू ई सेवाको होल्डमा बसेको हुनसक्छन भन्दै पीडितले प्रश्न समेत उठाएका छन्।

“होल्ड भएको रकम कहाँ जान्छ?”

यस घटनाको सबैभन्दा महत्वपूर्ण प्रश्न यही हो। पीडितका अनुसार eSewa सँग पटक–पटक सम्पर्क गर्दा उनलाई होल्डमा रहेको रकम तत्काल आफ्नो खातामा फिर्ता गर्न नसकिने जानकारी दिइयो। उनको भनाइमा, आवश्यक कागजात वा सम्बन्धित पक्षबाट प्रक्रिया पूरा नभएसम्म रकम होल्डमै रहने बताइएको थियो। तर यहाँ डिजिटल भुक्तानी प्रणालीसम्बन्धी एउटा महत्वपूर्ण सार्वजनिक प्रश्न उठ्छ—

कुनै रकम विवादित कारोबारका कारण होल्ड गरिन्छ भने त्यस रकमको अन्तिम कानुनी तथा प्राविधिक अवस्था के हुन्छ?

कति समयसम्म रकम होल्ड रहन्छ? कुन अवस्थामा पीडितलाई फिर्ता हुन्छ? कुन अवस्थामा रकम प्राप्तकर्तालाई जान्छ? र सम्बन्धित खाताधनीले आवश्यक कागजात दिन नसकेमा के हुन्छ?

यी प्रश्नको स्पष्ट र सार्वजनिक उत्तर डिजिटल भुक्तानी सेवाका प्रयोगकर्ताका लागि अत्यन्त महत्वपूर्ण हुन्छ।

१५–१७ पटकसम्म eSewa लाई सम्पर्क गरेको दाबी

पीडितका अनुसार उनले फोनमार्फत पटक–पटक eSewa मा सम्पर्क गर्नुका साथै १५–१७ पटकभन्दा बढी इमेल(bharatthapa5051@gmail.com)मार्फत समेत आफ्नो घटनाबारे जानकारी गराएका थिए। उनले आफूले उपलब्ध प्रमाण, कारोबार विवरण, सम्पर्कको विवरण तथा प्रहरीसम्बन्धी कागजातको विवरण समेत उपलब्ध गराएको बताएका छन्। तर लामो समयसम्म समाधान नआएपछि अन्ततः उनले उक्त रकमको आशा मार्नुपरेको बताए। उनको भनाइमा, उनले eSewa मार्फत आफूले प्राप्त गरेको जिन्दगीभरको reward बराबरको रकम पाइन भन्दै चित्त बुझाएको बताएका छन्। यसरी एक डलरको समस्या समाधान गर्न खोज्दा करिब ५० डलर गुमाएको पीडितको दाबी छ।

पीडितका अनुसार, आफूले रकम फिर्ताका लागि प्रयास गरिरहँदा सम्बन्धित व्यक्तिले “डलर किनबेच गर्न खोजेको काम गैरकानुनी भएकाले प्रहरीमा गए आफू पनि समस्यामा पर्न सक्ने” किसिमको कुरा गरेर डर देखाउने प्रयास गरेको थियो।

तर यो विषयमा पनि एउटा कुरा स्पष्ट हुन आवश्यक छ—विदेशी मुद्रा, PayPal, डिजिटल आम्दानी वा रकम स्थानान्तरणसम्बन्धी कारोबार कानुनी हो वा होइन भन्ने अन्तिम निष्कर्ष सम्बन्धित कानुन, कारोबारको प्रकृति र आधिकारिक निकायको व्याख्यामा निर्भर हुन्छ।

त्यसैले कसैले “तपाईं पनि फस्नुहुन्छ” भनेर डर देखाउँदै उजुरी गर्नबाट रोक्ने प्रयास गरेको हो भने त्यो आफैंमा अनुसन्धान गर्नुपर्ने विषय हुन सक्छ।

यो घटना केवल एक व्यक्तिको रकम गुमेको घटना मात्र होइन। यसले सामाजिक सञ्जालमा हुने अनलाइन कारोबार, डिजिटल वालेटको KYC, विवादित रकम होल्ड गर्ने प्रक्रिया र पीडितलाई रकम फिर्ता गराउने प्रणालीबारे गम्भीर प्रश्न उठाएको छ।

eSewa लाई केही महत्वपूर्ण प्रश्न

यो घटनाले eSewa को ध्यानाकर्षण गराउने उद्देश्यले केही प्रश्न सार्वजनिक रूपमा उठाउनुपर्ने देखिन्छ।

१. विवादित रकम तत्काल होल्ड गरिसकेपछि पीडितलाई फिर्ता गराउन किन सहज प्रक्रिया छैन?

२. रकम प्राप्त गर्ने खाताधनीले आवश्यक परिचयपत्र उपलब्ध गराउन नसकेको अवस्थामा रकमको कानुनी अवस्था के हुन्छ?

३. खातामा प्रयोग भएको KYC विवरण र वास्तविक प्रयोगकर्ता फरक भएको आशंका भए eSewa ले त्यसको अनुसन्धान कसरी गर्छ?

४. प्रहरीलाई विवरण उपलब्ध गराउनेबाहेक पीडितको रकम फिर्ता गराउने कुनै आन्तरिक प्रक्रिया छैन?

५. विवादित रकम लामो समयसम्म होल्डमा रहेमा त्यसको अन्तिम व्यवस्थापन कसरी हुन्छ?

६. पीडितले पटक–पटक प्रमाण र प्रहरीसम्बन्धी कागजात उपलब्ध गराउँदा पनि समाधान नआएको अवस्थामा eSewa को ग्राहक संरक्षणसम्बन्धी जिम्मेवारी कहाँसम्म पुग्छ?

अन्तिम प्रश्न : सानो रकम भए पनि उपभोक्ताको अधिकार सानो हुन्छ?

करिब ६–७ हजार रुपैयाँको विवाद भनेर यो विषयलाई सानो मान्न सकिन्छ। तर डिजिटल भुक्तानी सेवाको विश्वसनीयता रकमको आकारले निर्धारण हुँदैन।

आज कसैको ७ हजार रुपैयाँ होल्डमा परेर फिर्ता हुन सकेन भने भोलि यही प्रकृतिको समस्या हजारौँ रुपैयाँ वा लाखौँ रुपैयाँमा हुन सक्छ।

त्यसैले प्रश्न रकमको मात्र होइन—प्रणालीप्रतिको विश्वासको हो।

एक प्रयोगकर्ताले आफ्नो रकम सुरक्षित होला भनेर डिजिटल वालेट प्रयोग गर्छ। कारोबार विवादित भयो भने उसले सम्बन्धित सेवा प्रदायकबाट निष्पक्ष अनुसन्धान र स्पष्ट समाधानको अपेक्षा गर्छ।

यदि पीडितले भनेजस्तै तत्काल जानकारी गराउँदा रकम होल्ड गरिएको थियो, पटक–पटक प्रमाण उपलब्ध गराइएको थियो र प्रहरीको प्रक्रियासमेत अघि बढाइएको थियो भने अब मुख्य प्रश्न यही हो— त्यो रकमको अवस्था के भयो?

पीडितले आफ्नो रकम फिर्ता पाउन किन सकेनन्?

यस्तो अवस्थामा eSewa को जिम्मेवारी र उपभोक्ता संरक्षणको सीमा कहाँसम्म हो?

यो घटनामा सम्बन्धित व्यक्तिको नाम, खाता विवरण वा अन्य पहिचान सार्वजनिक गर्नुको सट्टा सम्बन्धित निकायबाट तथ्यगत जवाफ आउनु आवश्यक छ।

यदि eSewa ले यस घटनाबारे आफ्नो आधिकारिक धारणा, रकम होल्ड तथा फिर्तासम्बन्धी नियम र पीडितलाई उपलब्ध हुन सक्ने कानुनी उपाय स्पष्ट पार्छ भने त्यसले केवल एक व्यक्तिको समस्या समाधान गर्दैन—डिजिटल भुक्तानी सेवामाथि प्रयोगकर्ताको विश्वास अझ बलियो बनाउन पनि मद्दत गर्नेछ।

एक डलर निकाल्न खोज्दा ५० डलर गुमेको यो घटना अन्ततः एक व्यक्तिको पीडा मात्र हो कि डिजिटल भुक्तानी प्रणालीको एउटा ठूलो कमजोरीको संकेत? तपाईंलाई यो घटनाबारे के लाग्छ? आफ्नो प्रतिक्रिया कमेन्टमा दिनुहोस्।

Copyright © All rights reserved. | Newsphere by AF themes.