सुदूरपश्चिममै पहिलो पटक बैजनाथ बाल क्लबका पदाधिकारीलाई पोशाक(dress)र परिचयपत्र (id card)वितरण
कृष्णपुर, कञ्चनपुर, साउन १९ — कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित वडास्तरीय बैजनाथ बाल क्लब सुदूरपश्चिम प्रदेशमै आफ्ना पदाधिकारीका लागि आधिकारिक पोशाक (ड्रेस) र परिचयपत्र (आईडी कार्ड) व्यवस्था गर्ने पहिलो वडास्तरीय बाल क्लब बनेको छ।

कृष्णपुर नगरपालिका वडा नम्बर–१ को आर्थिक तथा प्राविधिक सहयोग तथा वडास्तरीय बैजनाथ बाल क्लबको आयोजनामा आयोजित विशेष कार्यक्रममा क्लबका पदाधिकारीहरूलाई आधिकारिक पोशाक र परिचयपत्र वितरण गरिएको हो।

कृष्णपुर नगरपालिकाका उत्कृष्ट बाल क्लबहरूमध्ये एक मानिने बैजनाथ बाल क्लबले बाल अधिकार संरक्षण, नेतृत्व विकास, शिक्षा, स्वास्थ्य, सरसफाइ, लैङ्गिक समानता, बालविवाह न्यूनीकरण, लागूऔषध दुव्र्यसनविरुद्ध जनचेतना लगायतका क्षेत्रमा निरन्तर विभिन्न सचेतनामूलक तथा सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

पोशाक र परिचयपत्र प्राप्त गरेसँगै क्लबका पदाधिकारीहरूमा थप जिम्मेवारीबोध, अनुशासन र उत्साह बढेको छ। उनीहरूले आगामी दिनमा बाल अधिकार प्रवर्द्धन, सामाजिक रूपान्तरण तथा समुदायस्तरीय अभियानहरूलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रमका सहभागीहरूले आधिकारिक पोशाक र परिचयपत्रले बाल क्लबको संस्थागत पहिचानलाई मजबुत बनाउनुका साथै बालबालिकामा नेतृत्व क्षमता, आत्मविश्वास र जिम्मेवारीबोधको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

स्थानिय तहको सहयोगमा सञ्चालन गरिएको यो पहल अन्य बाल क्लबका लागि समेत प्रेरणादायी बन्ने अपेक्षा गरिएको छ।
