September 8, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

सर्लाहीमा बस रोकेर चालक र महिला यात्रुमाथि हातपात

। जनकपुरदेखि धनगढीतर्फ जाँदै गरेको जालान यातायातको बसमा सोमबार  दिउँसो सर्लाहीको बागमती पुल नजिक अप्रिय घटना भएको छ। करिब ३:४५–३:५० बजेतिर पछाडिबाट आएको मोटरसाइकलमा सवार तीन जनाले बसले साइड नदिएको भन्दै बसको अगाडि मोटरसाइकल रोकेर गाडी रोक्न लगाएको र त्यसपछि बसभित्र प्रवेश गरी चालकलाई हातपात गरेको बताइएको छ।
घटनाका क्रममा चालकको क्याबिनमा रहेकी एक महिलामाथि समेत हातपात भएको बताइएको छ। यात्रुहरूले गल्ती भएको भए कुराकानी गरेर समाधान गर्न आग्रह गर्दा पनि हातपात हुनु झन् दुःखद र निन्दनीय विषय हो।
देशमा कानुन कार्यान्वयन कमजोर र दण्डहीनताको अवस्था रहँदा यस्ता घटना दिनहुँ दोहोरिन थालेका छन्। रातको निद्रासमेत नभनी देशका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म चालकहरू आफ्नो ज्यान जोखिममा राखेर यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउने जिम्मेवारी निर्वाह गरिरहेका हुन्छन्। तर, त्यही चालकहरू बाटोमै सामान्य विवादको नाममा कुटपिट र दुर्व्यवहारको सिकार बन्नुपर्ने अवस्था कहिलेसम्म ?
एउटा चालकले एकैपटक ४० भन्दा बढी यात्रुको जीवनको जिम्मेवारी बोकेर सवारी चलाइरहेको हुन्छ। सडकमा मोटरसाइकल वा अन्य सवारी चालकलाई हतार हुन सक्छ, साइड माग्न सक्छन्। तर सडकको अवस्था, ट्राफिकको चाप, मोड, पुल वा अन्य कारणले तत्काल साइड दिन नसकिने अवस्था पनि हुन सक्छ। यस्तो अवस्थामा चालकलाई गालीगलौज वा हातपात गर्नु समस्याको समाधान होइन।
अझ महत्वपूर्ण कुरा, सार्वजनिक सवारीका चालकहरू आफ्नो क्षेत्रभन्दा टाढा–टाढासम्म यात्रा गर्छन्। पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म सवारी चलाउने चालकका लागि अधिकांश ठाउँ अपरिचित हुन्छन्। स्थानीय क्षेत्रमा स्थानीय व्यक्तिहरूको बाहुल्यता हुने भएकाले चालक एक्लो र असहायजस्तो बन्न पुग्छ। यही अवस्थाको फाइदा उठाउँदै चालकलाई धम्क्याउने, कुटपिट गर्ने वा दुर्व्यवहार गर्ने प्रवृत्ति झनै चिन्ताजनक छ।
गल्ती चालकको भए कानुन छ, ट्राफिक प्रहरी छ, सम्बन्धित निकाय छन्। कारबाही गर्ने अधिकार कानुनलाई दिनुपर्छ, व्यक्तिले आफैं न्यायाधीश बनेर चालकको सिटमै पुगेर हात उठाउने अधिकार कसैलाई छैन। अझ यात्रु महिलामाथिसमेत हातपात हुनु कुनै पनि दृष्टिले स्वीकार्य हुन सक्दैन।
सडकमा विवाद हुन सक्छ, गल्ती हुन सक्छ, एकअर्कालाई चित्त नबुझ्ने अवस्था आउन सक्छ। तर समस्याको समाधान हातपात र लडाइँबाट होइन, संवाद, समझदारी र कानुनी प्रक्रियाबाट खोजिनुपर्छ।
केही व्यक्तिको गलत व्यवहारका आधारमा सम्पूर्ण सर्लाहीवासीलाई दोष दिनु पनि उचित हुँदैन। तर आज भएको जस्तो घटनाले देशभर सार्वजनिक सवारी चलाउने चालकहरूको सुरक्षामाथि गम्भीर प्रश्न भने खडा गरेको छ।
चालक पनि मानिस हुन्, उनीहरूको पनि सम्मान र सुरक्षित रूपमा काम गर्ने अधिकार छ। यात्रुको सुरक्षा जत्तिकै चालकको सुरक्षालाई पनि राज्यले गम्भीरतापूर्वक लिन आवश्यक छ।
चालकलाई कुटेर सडक सुरक्षित हुँदैन, कानुनको पालना र संवादबाट मात्रै सडक संस्कार सुध्रिन सक्छ।

Copyright © All rights reserved. | Newsphere by AF themes.