September 14, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

तीज आयो, माइतीघरमा बढ्यो चहलपहल, दरदेखि ऋषि पञ्चमीसम्म, यस्तो छ तीजको परम्परा

कंचनपुर । हरितालिका तीजको व्रत बस्नुअघि नेपाली महिलाहरूले आइतबार साँझ परम्पराअनुसार दर खाने तयारी गरेका छन्। दर खाएसँगै यस वर्षको चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुनेछ। तीजको अघिल्लो दिन माइती तथा दाजुभाइले आफ्ना छोरी, चेली तथा दिदीबहिनीलाई घरमा बोलाएर दर खुवाउने परम्परा नेपाली समाजमा लामो समयदेखि चलिआएको छ।

परम्परागत रूपमा दरमा शरीरलाई ऊर्जा दिने विभिन्न परिकार समावेश गरिन्छ। दूधबाट बनेका खाद्य पदार्थ, गहुँको रोटी, घिउलगायत पौष्टिक तथा आडिला खानेकुरा खाने चलन रहेको पाइन्छ। धार्मिक मान्यताअनुसार दर राति दुई भाग हुनुअघि नै खाइसक्नुपर्ने उल्लेख छ। भोलिपल्ट निराहार व्रत बस्ने भएकाले अघिल्लो दिन दरमार्फत शरीरलाई आवश्यक ऊर्जा सञ्चय गर्ने धार्मिक तथा सांस्कृतिक अभ्यास रहँदै आएको छ।

तीज केवल धार्मिक पर्वमा सीमित नभई महिलाहरूले आफ्ना भावना, पीडा, खुसी र जीवनका अनुभव गीत तथा नृत्यमार्फत व्यक्त गर्ने महत्वपूर्ण अवसरका रूपमा समेत स्थापित भएको छ। पछिल्लो समय नेपाली तीजको प्रभाव नेपालबाहिर पनि विस्तार हुँदै गएको देखिन्छ। विशेषगरी भारतमा समेत तीजका गीत तथा सांस्कृतिक गतिविधिले स्थान पाउन थालेका छन्।

यद्यपि पछिल्ला वर्षहरूमा तीज मनाउने क्रममा बढ्दै गएको तडकभडक र अनावश्यक खर्चप्रति संस्कृतिविद् तथा समाजशास्त्रीहरूले चिन्ता व्यक्त गर्दै आएका छन्। महँगा गरगहना र आकर्षक पोसाकको प्रदर्शन, भोजभतेर तथा लामो समयअघिदेखि दर खाने प्रवृत्तिले मौलिक संस्कृतिभन्दा देखावटी संस्कारलाई प्राथमिकता दिएको उनीहरूको भनाइ छ। यस्ता गतिविधिले आर्थिक रूपमा कमजोर परिवारमा समेत अनावश्यक दबाब सिर्जना गर्न सक्ने भएकाले सरल र मौलिक ढंगले पर्व मनाउनुपर्नेमा उनीहरूले जोड दिएका छन्।

दर खाएपछि सोमबार हरितालिका तीजको मुख्य व्रत मनाइन्छ। त्यसपछि चौथीका दिन गणेशको पूजा गरिन्छ भने पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तीज पर्वको समापन हुन्छ। स्वीकृत पात्रोअनुसार यस वर्ष भदौ ३० गते गणेश चौथी र ऋषि पञ्चमी पर्व मनाइने उल्लेख छ।

धार्मिक कथनअनुसार हरितालिका तीजको सम्बन्ध पार्वतीले भगवान् महादेवलाई पति प्राप्त गर्न गरेको कठोर तपस्या र व्रतसँग जोडिएको छ। पुराणमा उल्लेख भएअनुसार पार्वतीका साथीहरूले उनलाई सुरक्षित स्थानमा लगेर राखेपछि उनले त्यहीँ महादेव प्राप्तिको कामनासहित कठोर व्रत बसेकी थिइन्। यही पौराणिक घटनाको स्मरणस्वरूप भाद्र शुक्ल तृतीयाका दिन तीज व्रत बस्ने परम्परा सुरु भएको धार्मिक विश्वास छ।

तीजको अवसरमा काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजन तथा महिलाहरूको उल्लेख्य भीड लाग्ने गर्छ। यस दिन महिलाहरू आफ्ना माइती, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गर्दै सुखदुःख साटासाट गर्ने र तीजका गीत तथा नृत्यमा रमाउने गर्छन्। तीजसँगै नेपाली समाजमा प्रमुख चाडपर्वको वातावरण सुरु हुने र त्यसपछि बडादसैँ तथा तिहारजस्ता ठूला पर्वहरू क्रमशः आउने भएकाले यसको सांस्कृतिक महत्व अझ विशेष मानिन्छ।

Copyright © All rights reserved. | Newsphere by AF themes.