चार्जिङ स्टेसनबाट गाडी ब्याक गर्ने क्रममा ईभीको ठक्करबाट ६१ वर्षीय चौधरी घाइते
राजापुर, बर्दिया । बर्दियाको राजापुर नगरपालिका–४ मा विद्युतीय सवारी (ईभी) को ठक्करबाट एक जना घाइते भएका छन्।
राजापुर–४ स्थित चार्जिङ स्टेसनबाट शुभकामना यातायात प्रालिको भे १ ज १८६८ नम्बरको ईभी गाडी चालक तिलक शर्माले ब्याक गरी बाहिर निकाल्ने क्रममा स्थानीय ६१ वर्षीय धनिराम चौधरी घाइते भएका हुन्।
प्रहरीका अनुसार चौधरी मादक पदार्थ सेवन गरी सडकमा बसेको अवस्थामा गाडी ब्याक गर्ने क्रममा ठक्कर लागेको हो। दुर्घटनामा चौधरीको हात र खुट्टामा सामान्य चोट लागेको बताइएको छ।
घाइते चौधरीको राजापुर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
घटनाबारे जानकारी दिँदै राजापुर ट्राफिक इन्चार्ज प्रहरी निरीक्षक विनोदबहादुर शाहीले दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
