September 12, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

​३१ वर्षको सफल कार्यकाल: कराँते प्रशिक्षक बिमल खडायतले लिए अनिवार्य अवकाश

महेन्द्रनगर: कञ्चनपुरका वरिष्ठ कराँते प्रशिक्षक बिमल खडायतले उमेर हदका कारण आफ्नो लामो र सफल खेल जीवनबाट अनिवार्य अवकाश लिनुभएको छ। जिल्ला खेलकूद विकास समिति कञ्चनपुरमा तीन दशकभन्दा बढी समयसम्म अनवरत रूपमा खेल सेवा पुर्‍याउनुभएका खडायतले ५८ वर्षे उमेर हदका कारण औपचारिक रूपमा सेवा निवृत्त हुनुभएको हो। उहाँको यो बिदाइले कञ्चनपुरको खेलकुद क्षेत्रमा एक महत्वपूर्ण प्रभाव छोडेर गएको अनुभव गरिएको छ।

​वि.सं. २०५२ सालमा नेपाल सरकार राष्ट्रिय खेलकूद परिषद्बारा कराँते प्रशिक्षकको रूपमा आधिकारिक नियुक्ति पाउनुभएका खडायतले आफ्नो सेवा यात्राको सुरुवात बैतडी जिल्ला खेलकूद विकास समितिबाट गर्नुभएको थियो। बैतडीमा आफ्नो पहिलो कार्यभार सम्हाल्दै खेलकुदको जग बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्नुभएका उहाँ पछि कञ्चनपुर सरुवा भई यहींबाट आफ्नो कार्यकाललाई सदाका लागि स्मरणीय बनाउनुभयो। ३१ वर्षको लामो, कडा मेहनत र समर्पणले भरिएको यो कार्यकालमा उहाँले सयौं प्रतिभावान खेलाडीहरू उत्पादन गर्नुभएको छ।

​खडायतको यो योगदानको उच्च सम्मान गर्दै जिल्ला खेलकूद विकास समिति कञ्चनपुरको कार्यालयमा एक भव्य तथा भावुक बिदाइ कार्यक्रमको आयोजना गरियो। समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कार्यालय प्रमुख गोपाल दत्त भट्ट, विभिन्न खेलका प्रशिक्षकहरू, खेल पदाधिकारीहरू तथा थुप्रै अनुशासित खेलाडीहरूको बाक्लो उपस्थिति रहेको थियो। सबैले उहाँको कार्यकालको प्रशंसा गर्दै आगामी दिनको सुखद र स्वस्थ जीवनको कामना गरेका थिए।

​सेवा निवृत्त भएपश्चात प्रशिक्षक खडायतले आफ्नो आधिकारिक सामाजिक सञ्जाल मार्फत सम्पूर्ण खेलप्रेमी, समिति परिवार तथा सहकर्मीहरूप्रति गहिरो आभार प्रकट गर्नुभएको छ। उहाँले आफ्नो ३१ वर्षे सेवा अवधि र जीवनका महत्त्वपूर्ण वर्षहरू खेलकुद क्षेत्रलाई सुम्पिन पाउँदा आफूलाई गर्व महसुस भएको उल्लेख गर्नुभएको छ।

साथै, आफूलाई कठिन परिस्थितिमा समेत निरन्तर साथ र सहयोग गर्ने जिल्ला खेलकूद विकास समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंह, कार्यालय प्रमुख गोपाल दत्त भट्टलगायत सम्पूर्ण खेल परिवारप्रति हार्दिक धन्यवाद ज्ञापन समेत गर्नुभएको छ।

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोला।

Copyright © All rights reserved. | Newsphere by AF themes.