कृष्णपुरको निगालीमा विशाल सामुदायिक वनको आयोजनामा दुई दिने तीज विशेष कार्यक्रम हुँदै
कञ्चनपुर — चाडपर्वहरू नजिकिँदै गर्दा कञ्चनपुर जिल्लामा सांस्कृतिक तथा सामाजिक उत्सवहरूको लहर छाएको छ। यसैक्रममा कृष्णपुर नगरपालिका वडा नं. १, निगालीस्थित श्री विशाल सामुदायिक वन उपभोक्ता समूहको आतिथ्यता तथा भव्य आयोजनामा दुई दिनसम्म सञ्चालन हुने गरी एक आकर्षक ‘तीज विशेष कार्यक्रम’ हुने भएको छ। महिलाहरूको महान पर्व हरितालिका तीजलाई मध्यनजर गर्दै यस क्षेत्रका उपभोक्ता तथा बासिन्दाहरूमा नयाँ उमंग र उल्लास छाइरहेको बेला यस कार्यक्रमले स्थानीय स्तरमा विशेष रौनक थप्ने निश्चित प्रायः देखिएको छ।
सामुदायिक वनका अध्यक्ष सुचित्र शाहका अनुसार आगामी भदौ २९ र ३० गते गरी दुई दिनसम्म सञ्चालन हुने यस बृहत् कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ। कार्यक्रम सञ्चालन हुने मिति २०८३ साल भदौ २९ र ३० गते तोकिएको छ भने समय दैनिक दिउसो १२ बजेदेखि निर्धारण गरिएको छ। त्यस्तै, यस भव्य उत्सवको लागि ग्रामीण स्वास्थ्य इकाई, निगालीको प्रांगण तथा परिसरलाई कार्यक्रम स्थलको रूपमा तय गरिएको छ। तोकिएको समय र स्थानमा उपस्थित भई कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन सम्पूर्ण उपभोक्ता, आमा दिदीबहिनी तथा दाजुभाइहरूमा आयोजकले हार्दिक निमन्त्रणा एवं अनुरोध गरेको छ। प्रायजसो हरेक वर्षहरूमा हिन्दू नारीहरूको महान पर्वलाई विशाल सामुदायिक वनले निरन्तर यसै रुपमा आयोजना गरिरहेको छ ।
नेपाली नारीहरूका लागि हरितालिका तीज केवल एक साधारण चाड मात्र नभई यो उनीहरूको पहिलो सांस्कृतिक र धार्मिक गौरव हो। पतिको दीर्घायु, सुस्वास्थ्य र परिवारको सुखशान्तिको कामना गर्दै व्रत बस्ने परम्परा रहेको यस पर्वमा महिलाहरूले आफ्ना वर्षभरिका पीडा, वेदना, घरपरिवारको बोझ र मनका सुस्केराहरूलाई गीत, संगीत, नाचगान र राता पहिरनमार्फत पोख्ने गर्दछन्। माइतीको न्यास्रो मेटाउने र साथीसंगीसँग खुलेर रमाउने सुनौलो अवसरका रूपमा लिइने तीजले महिलाहरूबीच आपसी सद्भाव, भाइचारा र सामाजिक एकताको बलियो सन्देश प्रवाह गर्दै आएको छ। आधुनिकतासँगै यसले महिला सशक्तीकरण, अधिकार र सामूहिक रूपमा आफ्ना आवाज बुलन्द गर्ने सशक्त माध्यमको रूपसमेत लिँदै आएको छ।
यस किसिमका सांस्कृतिक कार्यक्रमहरूले केवल मनोरञ्जन मात्र नदिई हाम्रो मौलिक कला, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षण तथा संवद्र्धनमा अतुलनीय योगदान पुर्याउने गरेका छन्। समाजका हरेक कुनाकाप्चामा रहेका नारी शक्तिलाई एकजुट गर्दै सांस्कृतिक पहिचान जोगाइराख्न र आपसमा आत्मियता प्रगाढ बनाउन यस्ता उत्सवहरूको महत्त्व अपार रहन्छ। त्यसैले, यस ऐतिहासिक तथा भव्य अवसरमा सम्पूर्ण निगालीवासी तथा आसपासका क्षेत्रका बासिन्दाहरूले आफ्नो व्यस्त दैनिकीबाट केही समय निकालेर कार्यक्रममा सहभागिता जनाउने अपेक्षा गरिएको छ। अन्त्यमा, नारी शक्तिको सम्मान र कला संस्कृतिको जगेर्नाका लागि आयोजना गरिएको यस किसिमको कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्दै आपसी सद्भावलाई अझ प्रगाढ बनाउने विश्वास गरिएको छ।
