October 6, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

धनगढी-अत्तरिया ६ लेन सडकमा लेन अनुशासन कायम गर्न ट्राफिक सचेतनामूलक होर्डिङ बोर्ड र पोस्टर

कैलाली –अत्तरिया छ लेन सडकखण्डअन्तर्गत गोदावरी नगरपालिका–५ र वडा नम्बर १ मा दुर्घटना न्यूनीकरण तथा लेन अनुशासन कायम गर्ने उद्देश्यले विभिन्न सचेतनामूलक कार्यक्रमहरू अगाडि बढाइएका छन्। यसैक्रममा सडक सुरक्षालाई प्रभावकारी बनाउन भित्ते चित्र तथा रेडियम स्टिकरसहितका आकर्षक होर्डिङ बोर्डहरू विभिन्न स्थानमा स्थापना गरिएका छन्। यस अभियानले सवारी चालकहरूलाई सही लेनको प्रयोग गर्न र ट्राफिक नियमहरूप्रति थप सचेत बन्न प्रत्यक्ष रूपमा प्रेरित गर्ने विश्वास गरिएको छ।

​यस महत्वपूर्ण जनचेतनामूलक अभियानका लागि सुन्दर सुदूरपश्चिम यातायात प्रालि, नवजीवन अस्पताल प्रालि र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आवश्यक आर्थिक सौजन्य उपलब्ध गराएका छन्। यसका साथै गोदावरी नगरपालिका, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया र जिल्ला कैलाली ट्राफिक कार्यालयको सक्रिय सहकार्यमा उक्त बोर्डहरू सडकखण्डका विभिन्न उपयुक्त स्थानहरूमा जडान गरिएको हो।

​कार्यक्रममा आफ्ना धारणा राख्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले अधिकांश चालकहरूमा अझै पनि लेन अनुशासनसम्बन्धी पर्याप्त ज्ञानको अभाव रहेको औंल्याउनुभयो। उहाँले सडकमा राखिएका यस्ता सचेतनामूलक बोर्डहरूले नियम पालना गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै तोकिएका संकेत तथा नियमहरूको पूर्ण पालना गरेमा सडक दुर्घटनामा उल्लेखनीय कमी ल्याउन सकिने दृढ विश्वास व्यक्त गर्नुभयो।

​सडक दुर्घटना न्यूनीकरणका निम्ति निरन्तर खटिरहने चालक अमर बिष्टले धेरैजसो चालकले जानकारी हुँदाहुँदै वा जानकारीको अभावमा पनि लेन मिच्ने प्रवृत्ति रहेको बताउनुभयो। यी बोर्डहरू स्थापना गर्न उहाँले विगत दुई महिनादेखि विभिन्न संघसंस्थासँग निरन्तर समन्वय गरी आर्थिक सहयोगको अपिल गर्नुभएको थियो। यद्यपि, दुर्घटना भइसकेपछि लाखौँ खर्च गर्न तत्पर रहने केही कल्याणकारी कोष तथा मजदुर संस्थाहरूले दुर्घटना हुनै नदिने यस्ता सचेतनामूलक अभियानमा भने अपेक्षित आर्थिक सहयोगका लागि खासै चासो नदेखाएको उहाँको गुनासो थियो।

​सो अवसरमा चालक बिष्टले अभियानलाई प्रत्यक्ष रूपमा सहयोग गर्ने सुन्दर सुदूरपश्चिम यातायात प्रालि, नवजीवन अस्पताल प्रालि र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो। साथै, अभियानको सहजीकरण तथा व्यवस्थापनमा अहम् भूमिका खेल्ने गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्ट, वडा नम्बर १ का अध्यक्ष गोपालदत्त भट्ट, विपद् व्यवस्थापन शाखाका सुपरभाइजर प्रमलसिंह महरा, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको सम्पूर्ण टोली र जिल्ला ट्राफिक कार्यालय कैलालीको टोलीलाई पनि उहाँले एकमुष्ट धन्यवाद व्यक्त गर्नुभयो। यसका साथै उक्त कार्यक्रममा सुन्दर सुदूरपश्चिम यातायात प्रालिका सचिव रामदत्त भट्टको समेत उपस्थिति रहेको थियो।

​गोदावरी नगरपालिका क्षेत्रको यस ६ लेन सडकखण्डमा ट्राफिक नियमको पालना सुनिश्चित गर्न सडकको मिडियनमा जानकारीमूलक पोस्टरहरू टाँसिएका छन्। तोकिएको नियमअनुसार पहिलो लेन (१) एम्बुलेन्स, दमकल, प्रहरीलगायत अत्यावश्यक तथा इमर्जेन्सी सवारीसाधनका लागि तोकिएको छ भने दोस्रो लेन (२) मा बस, ट्रक, लहरी, हाइस, जिप, कार र ट्याङ्करजस्ता ठूला तथा मझौला सवारीसाधनहरू सञ्चालन हुनेछन्। त्यसैगरी, तेस्रो लेन (३) अटो, मोटरसाइकल र स्कुटरजस्ता साना तथा दुई वा तीनपाङ्ग्रे सवारीसाधनका लागि निर्धारण गरिएको छ। ‘सही लेनको प्रयोग गरौँ, ट्राफिक नियमको पालना गरौँ र सडक यात्रा सुरक्षित बनाऔँ’ भन्ने मुख्य सन्देशसहित सुरु भएको यो संयुक्त प्रयासले यस क्षेत्रको यातायात व्यवस्थापनलाई अझ सुरक्षित र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

The post धनगढी-अत्तरिया ६ लेन सडकमा लेन अनुशासन कायम गर्न ट्राफिक सचेतनामूलक होर्डिङ बोर्ड र पोस्टर appeared first on ✍️कञ्चन मिडिया📸.

Copyright © All rights reserved. | Newsphere by AF themes.