कृष्णपुरमा सोह्रौँ संस्करणको भेट्रान फुटबल प्रतियोगिता सुरु
कृष्णपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ र २ स्थित मोतिपुर बंकमा ‘वन संरक्षणसँगै खेलकुदको सम्मान ! भेट्रान फुटबल स्वास्थ्य र एकताको अभियान !!’ भन्ने मूल नाराका साथ १६औँ भेट्रान रनिङ कप फुटबल प्रतियोगिता भव्य रूपमा सुरु भएको छ। बडादसैँ, शुभ दीपावली तथा छठ पर्वको पावन अवसर पारेर मिति २०८३/०६/२० गतेदेखि आयोजना गरिएको यस प्रतियोगिताको दीपेन्द्र स्मृति सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको हो।
प्रतियोगिताको एक विशेष समारोहबीच कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले उद्घाटन गर्नुभएको छ। उद्घाटन कार्यक्रममा विभिन्न सामुदायिक वनका अध्यक्षहरू, सुरक्षा निकायका प्रतिनिधिहरू, विभिन्न संघ–संस्थाका प्रमुख एवं प्रतिनिहरू, पत्रकार लगायत खेलप्रेमी स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो।
प्रतियोगिताले स्थानीयस्तरमा खेलकुदको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा स्वास्थ्य र वन संरक्षणप्रति जनचेतना फैलाउने मुख्य उद्देश्य राखेको छ। यस प्रतियोगिताको प्रमुख आकर्षण ३५ वर्षमाथिका खेलाडीहरू सहभागी हुने भेट्रान फुटबल प्रतिस्पर्धा रहेको छ भने यसका अतिरिक्त युवा फुटबल तथा यु–१६ छात्रा फुटबल खेलहरूसमेत सञ्चालन गरिनेछन्।
दिपेन्द्र सा.व. द्वारा निरन्तर रूपमा आयोजना गरिँदै आएको यो प्रतियोगिता देखि अन्डर १६ महिला छात्रा का खेलहरू समेत समावेश गरिएको हो । जुन खेलहरू आगामी संस्करणमा समेत निरन्तर रूपमा आयोजना गरिने सामुदायिक वनका अध्यक्ष पूर्णबहादुर चन्दले जानकारी गराउनुभएको छ ।
प्रतियोगिता मा आयोजक सहित १३ वटा सामुदायिक वनका भेटरान, युवा र छात्रा गरी तीन तीनवटा टिमहरूको सहभागिता रहेको छ। विभिन्न उमेर समूहका खेलाडीहरूलाई समेटेर खेलाइने यी खेलहरूले आपसी भाइचारा, सामाजिक सद्भाव, एकता र स्वस्थ जीवनशैलीको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।
स्थानीयस्तरमा खेलकुदप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै सञ्चालित यस प्रतियोगितालाई ज्ञानोदय मन्टेसरीले मुख्य प्रायोजन गरेको छ भने होटल हिल्स भ्यु टपलगायत स्थानीय विभिन्न संघ–संस्था र व्यवसायीहरूले सह–प्रायोजन गरेका छन्। स्थानीय समुदायको सक्रिय सहभागितामा भइरहेको यस प्रतियोगिताले यस क्षेत्रका युवा तथा नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न र सामुदायिक वन संरक्षणको अभियानलाई थप मजबुत बनाउन महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रम सम्बन्धी फोटोहरू हेर्नका लागि यहाँ क्लिक गर्नुहोला ।
The post कृष्णपुरमा सोह्रौँ संस्करणको भेट्रान फुटबल प्रतियोगिता सुरु appeared first on ✍️कञ्चन मिडिया📸.
