चुरे लालझाडी सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न..
कृष्णपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको श्री चुरे लालझाडी जैविकमार्ग संरक्षण कृषि सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न भएको छ। संस्थाका अध्यक्ष शिव दत्त पन्तको सभाअध्यक्षतामा आयोजित यस कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष तथा निवर्तमान सुदूरपश्चिम प्रदेश सभा सदस्य महेश दत्त जोशीको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी, कार्यक्रममा कृष्णपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष धर्मबहादुर सिंह विशिष्ट अतिथि रहनुभएको थियो भने विभिन्न सामुदायिक वनका प्रतिनिधि, सहकारीका पदाधिकारी तथा सेयर सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमलाई थप गरिमामय बनाउँदै सहकारीका सचिव नरेश राज भट्टले कुशलता पूर्वक कार्यक्रम सञ्चालन गरेका थिए। साधारणसभाका अवसरमा प्रस्तुत विवरणअनुसार वि.सं. २०७० सालमा जम्मा २२५ जना सेयर सदस्यबाट आफ्नो व्यावसायिक यात्रा आरम्भ गरेको यो सहकारी संस्थामा हाल सेयर सदस्यहरूको सङ्ख्या २,५०० बढी नाघेको छ। अध्यक्ष पन्तले आफ्नो मन्तव्यका क्रममा संस्थाले कृषि क्षेत्रको विकास र सदस्यहरूको आर्थिक उन्नतिका लागि निरन्तर काम गर्दै आएको र आगामी दिनमा यसलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।
साधारणसभाको अवसर पारेर संस्थाले वित्तीय सुदृढता, सामाजिक उत्तरदायित्व र आगामी दिनका योजनाहरूसमेत सार्वजनिक गरेको छ। यसअघि आर्थिक वर्षहरूमा संस्थाले आफ्ना नियमित बचतकर्ता सदस्यहरूको दुःखसुखमा साथ दिँदै आएको छ। जसअनुसार, नियम अनुसार नियमित बचत गर्ने दुई जना सेयर सदस्यको निधन हुँदा संस्थाको राहत कोषबाट उनीहरूको घरपरिवारलाई प्रतिव्यक्ति १५ हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरिएको छ। एवं प्रकारले कार्यक्रममा संस्थाको वित्तीय अवस्थाबारे शेयर सदस्यहरूलाई जानकारी गराइएको थियो।
सफलताका बाबजुद पनि सहकारीले केही मुख्य समस्या तथा चुनौतीहरूको सामना गर्नुपरिरहेको विषयसमेत साधारणसभामा उठाइएको छ। सामुदायिक वनका लक्षित समुदायको आयआर्जनका लागि यस सहकारीमार्फतघुम्ती कोष सञ्चालन हुन नसक्नु, कर्मचारी तथा बजार प्रतिनिधिहरूको पारिश्रमिक न्यून हुनु र उनीहरूको क्षमता विकासका लागि तालिम तथा गोष्ठीको आवश्यकता खट्कनु प्रमुख चुनौतीका रूपमा रहेका छन्। यसका साथै, सेवा क्षेत्रका सबै वडामा रासायनिक मलखाद वितरण गर्न कानुनी अड्चन हुनु र रासायनिक मलखादको डिलरसिप कृष्णपुर २ नम्बर वडामा मात्र सीमित हुँदा कोटा न्यून भएर माग अनुसार सबै सदस्यलाई मल उपलब्ध गराउन नसकिएको यथार्थ पनि प्रस्तुत गरिएको छ।
यी विभिन्न चुनौतीलाई चिर्दै सहकारीले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि निकै महत्त्वाकाङ्क्षी कार्ययोजना समेत पारित गरेको छ। जसअनुसार कलुवापुर र गुलरियामा सेवाकेन्द्र सञ्चालनका लागि रजिस्ट्रार कार्यालयबाट अनुमति लिई सेवाकेन्द्र विस्तार गर्ने लक्ष्य राखिएको छ। सेवा क्षेत्रका सामुदायिक वनहरूसँग समन्वय बढाएर सेयर सदस्यहरूको सङ्ख्यामा वृद्धि गर्ने, बाल बचत लगायतका अन्य आकर्षक बचत कार्यक्रमहरू सञ्चालन गरी कुल निक्षेप बढाउने योजना अघि सारिएको छ। साथै, सेयर सदस्यहरूलाई व्यावसायिक कृषि प्रवर्द्धनका लागि सहुलियतपूर्ण ऋण प्रवाह गर्न विभिन्न वित्तीय संस्थाहरूसँग सहकार्य गरी ऋण ल्याउने पहल गरिने कुरा साधारणसभाले पारित गरेको छ।
कार्यक्रमसँग सम्बन्धित अन्य फोटोहरू हेर्नका लागि यहाँ क्लिक गर्नुहोला।
The post चुरे लालझाडी सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न.. appeared first on ✍️कञ्चन मिडिया📸.
