कञ्चनपुरमा हरित अभियान, ऐश्वर्या सामुदायिक वनमा १२ सय बढी बिरुवा रोपिए..
कृष्णपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका-१, दोमिल्लास्थित ऐश्वर्या सामुदायिक वनमा पर्यावरण संरक्षण, जडिबुटी प्रवर्द्धन तथा स्थानीयस्तरमा फलफूल उत्पादन बढाउने उद्देश्यका साथ वृहत् वृक्षरोपण गरिएको छ। वन क्षेत्रलाई अझ हराभरा र आयआर्जनसँग जोड्ने लक्ष्यसहित आयोजित यस कार्यक्रममा विभिन्न प्रजातिका उपयोगी तथा औषधीय गुणयुक्त बिरुवाहरूको सफल रोपण गरिएको हो। यस अभियान अन्तर्गत ऐश्वर्या सामुदायिक वन क्षेत्रमा पाँच सय बोट अमला, पाँच सय बोट सितल चिनी, दुई सय बोट अम्बा लगायतका बिरुवाहरू लगाइएको सामुदायिक वनका अध्यक्ष ईश्वर बहादुर बुढाले जानकारी दिएका छन्।
यस वृहत् वृक्षरोपण कार्यक्रममा वन तथा वातावरण क्षेत्रका जिम्मेवार व्यक्तित्वहरूसहित स्थानीयवासीको व्यापक र उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेश दत्त जोशी, सबडिभिजन वन कार्यालय वाणीका प्रमुख तथा वरिष्ठ वन अधिकृत भरत शाह र कञ्चनपुरका डिभिजन वन अधिकृत लक्ष्मीराज जोशीको विशेष उपस्थिति रहेको थियो। त्यसैगरी, वनका कर्मचारीहरू, सामुदायिक वनका पदाधिकारीहरू, वन उपभोक्ताहरू, सामाजिक अभियन्ताहरू, युवायुवती तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो।
केवल बिरुवा रोपेर मात्र छाड्ने नभई त्यसको संरक्षण र उचित हुर्कने प्रक्रियाबारे सहभागीहरूलाई जानकारी गराउने उद्देश्यले कार्यक्रममा विशेष छलफलसमेत गरिएको थियो। कार्यक्रमका क्रममा वृक्षरोपण कसरी र कहिले गर्ने भन्ने बारेमा प्राविधिक ज्ञान प्रदान गरिनुका साथै यसबाट पर्यावरण र स्थानीय समुदायलाई हुने विभिन्न फाइदाहरूका बारेमा समेत विस्तृत चर्चा गरिएको थियो। स्थानीयस्तरमा भएका यस्ता रचनात्मक कार्यक्रमहरूले एकातिर भू-क्षय नियन्त्रण र वातवरण सन्तुलनमा टेवा पुर्याउने विश्वास गरिएको छ भने अर्कोतर्फ भविष्यमा यी जडिबुटी तथा फलफूलजन्य बिरुवाबाट स्थानीय समुदायले प्रत्यक्ष लाभ लिन सक्ने अपेक्षा गरिएको छ।
