July 24, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

असहाय एकल महिला परु चन्दलाई समाजसेवी युवाद्वारा खाद्यान्न तथा आवश्यक सामग्री सहयोग।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२, बंककी २८ वर्षीया असहाय एकल महिला परु चन्द र उनका तीन साना सन्तानलाई कृष्णपुरका समाजसेवी युवा भिमबहादुर बुढा, अनिल देउवाईशान रानाले करिब रु. ८ हजारभन्दा बढी मूल्य बराबरका खाद्यान्न, सरसफाइ सामग्री तथा एक थान पंखा सहयोग गरेका छन्।

शुक्रबार कृष्णपुर नगरपालिका–२ का वडा अध्यक्ष अर्जुन सिंह साउदको उपस्थितिमा परु चन्दकै निवासमा पुगेर सहयोग सामग्री हस्तान्तरण गरिएको हो।

सहयोग कार्यक्रममा बोल्दै समाजसेवी भिमबहादुर बुढाले परु चन्दका साना बालबालिकाको दयनीय अवस्था देखेपछि साथीहरूसँगको सहकार्यमा मानवीय भावनाका साथ सहयोग गरिएको बताए। उनले समाजमा रहेका आर्थिक रूपमा सक्षम व्यक्तिहरूले पनि यस्ता विपन्न तथा असहाय परिवारको दुःखमा साथ दिनुपर्ने आवश्यकता औँल्याए।

वडा अध्यक्ष अर्जुन सिंह साउदले समाजसेवी युवाहरूको पहलको प्रशंसा गर्दै यस्ता मानवीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए। उनले सबैलाई आफ्नो क्षमता अनुसार विपन्न, असहाय तथा समस्यामा परेका परिवारको सहयोगमा हातेमालो गर्न आग्रह गरे।

सहयोग प्राप्त गरेपछि परु चन्दले कठिन परिस्थितिमा आफू र आफ्ना सन्तानलाई गरिएको सहयोगले ठूलो राहत र हौसला मिलेको बताउँदै सहयोग गर्ने सम्पूर्ण समाजसेवी तथा सहयोगीप्रति हार्दिक आभार व्यक्त गरिन्।

स्थानीय स्तरमा युवाहरूले देखाएको यस्तो सामाजिक उत्तरदायित्व र मानवीय सेवाले समुदायमा सहयोग, सहकार्य र सद्भावको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

Copyright © All rights reserved. | Newsphere by AF themes.