गेटामा ट्राफिक प्रहरीको मापसे चेकजाँच, ९ जना चालक कारबाहीमा
गेटा । धनगढी–अत्तरिया सडकखण्डअन्तर्गत गेटा ट्राफिक पोस्ट नजिक नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया र गेटा ट्राफिक पोस्टको संयुक्त टोलीले गरेको मादक पदार्थ सेवन (मापसे) चेकजाँचका क्रममा ९ जना चालकले मादक पदार्थ सेवन गरेको पाइएको छ।
सोमबार साँझ ५ बजेदेखि ७ बजेसम्म गरिएको चेकजाँचका क्रममा चालकहरूको मापसे परीक्षणसँगै सवारी साधनका आवश्यक कागजातसमेत जाँच गरिएको थियो।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार सडक दुर्घटना न्यूनीकरण तथा सर्वसाधारणको जिउधनको सुरक्षाका लागि कार्यालयले नियमित रूपमा ‘सरप्राइज चेकजाँच’ गर्दै आएको छ।
उनका अनुसार चेकजाँचका क्रममा सिभिल प्रहरीबाट लागूऔषधसम्बन्धी परीक्षण तथा ट्राफिक प्रहरीबाट चालकले मादक पदार्थ सेवन गरे/नगरेको, सवारी चालक अनुमतिपत्र र सवारी साधनका कागजात जाँच गर्ने गरिएको छ।
मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएमा सम्बन्धित सवारी साधन नियन्त्रणमा लिई नियमअनुसार जरिवाना तथा कारबाही गरिने कार्कीले बताए। मापसे नगरेको र चालक अनुमतिपत्र भएको अर्को चालक उपलब्ध भएमा सवारी साधन जिम्मा लगाउने तथा त्यस्तो चालक उपलब्ध नभएमा सवारी साधन प्रहरी नियन्त्रणमा राखिने उनले जानकारी दिए।
‘जरिवाना गर्ने उद्देश्यभन्दा पनि सर्वसाधारणको जिउधन सुरक्षित होस्, अकालमै कसैले ज्यान गुमाउन नपरोस् र घाइते हुन नपरोस् भन्ने उद्देश्यले चेकजाँचलाई निरन्तरता दिएका हौँ,’ प्रहरी उपरीक्षक कार्कीले बताए।
सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरीले आगामी दिनमा पनि यस्ता आकस्मिक तथा नियमित चेकजाँचलाई निरन्तरता दिने जनाएको छ।
The post गेटामा ट्राफिक प्रहरीको मापसे चेकजाँच, ९ जना चालक कारबाहीमा appeared first on ✍️कञ्चन मिडिया📸.
