September 22, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

रसुवा भोटेकोशी बाढी पीडित तथा प्रभावितका परिवारहरूलाई करिब साढे तीन लाख रूपैयाँ राहत वितरण

सुनिल ऐर, कञ्चनपुर — कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका वडा नं. ५ र कृष्णपुर नगरपालिका वडा नं. ३ को संयुक्त समन्वय तथा पहलमा सञ्चालित ‘रसुवा भोटेकोशी बाढी पीडित सहयोग अभियान’ अन्तर्गत सङ्कलित राहत रकम पीडित तथा प्रभावित परिवारहरूलाई हस्तान्तरण गरिएको छ। रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण प्रभावित यस क्षेत्रका पीडितहरूको घाउमा मलम लगाउने उद्देश्यले सुरु गरिएको यस मानवीय अभियानले राहत वितरणको कार्य समेत सम्पन्न गरेको छ।

​अभियानको सुरुवातमार्फत स्थानीय जनप्रतिनिधि, सामुदायिक वनका अध्यक्षहरू, भलमन्सा, युवा क्लब तथा विभिन्न संघसंस्थाका प्रतिनिधीहरूको सहभागितामा राहत सङ्कलन अभियान सुरु गरिएको थियो। यस अभियानको प्रभावकारी व्यवस्थापनका लागि विभिन्न टोलहरूबाट आर्थिक सहयोग जुटाइएको थियो ।

​उठाइएको कुल रकमबाट बाढीका कारण बेपत्ता तथा पीडित भएका परिवार र सकुशल फर्किएका व्यक्तिलाई राहत प्रदान गरिएको छ। प्राप्त विवरण अनुसार बाढीमा परी बेपत्ता भएका रिकेश रानालाई रु. ८०,०००, कालू रानालाई रु. ८०,०००, करेशन रानालाई रु. ८०,००० र पदम साउदलाई रु. ८०,००० का दरले उनीहरूका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ। यसरी चार जना मृतक/बेपत्ता परिवारका लागि कुल रु. ३,२०,००० वितरण गरिएको छ भने बाँकी रकमबाट रसुवाको भोटेकोशी बाढीबाट सकुशल फिर्ता आएका लालझाडी वडा नं. ५ का एक जना सन्दिप रानालाई सहयोग स्वरूप रु. २५,००० प्रदान गरिएको छ। विपद्को यस घडीमा सङ्कलित शतप्रतिशत रकम सोझै वास्तविक पीडितहरूसम्म पुर्‍याउन पाउँदा स्थानीय बासिन्दा तथा युवाहरूले अभियानको सफलताप्रति खुसी व्यक्त गरेका छन्।

The post रसुवा भोटेकोशी बाढी पीडित तथा प्रभावितका परिवारहरूलाई करिब साढे तीन लाख रूपैयाँ राहत वितरण appeared first on ✍️कञ्चन मिडिया📸.

Copyright © All rights reserved. | Newsphere by AF themes.