June 22, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

अत्तरियाको विद्यालयमा असहाय बालकप्रति गरिएको व्यवहारले उठायो मानवीयताको प्रश्न

अत्तरियास्थित दुर्गालक्ष्मी विद्यालयमा एक असहाय बालकलाई भर्ना गराउने प्रयासका क्रममा भएको व्यवहारप्रति सामाजिक अभियन्ता तथा दृष्टि फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टले दुःख व्यक्त गरेकी छन्। उनले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको घटनाले अहिले सामाजिक संवेदनशीलता र मानवीयताको विषयमा प्रश्न उठाएको छ।
कल्पना भट्टका अनुसार बुवा बेपत्ता र आमा क्यान्सरका कारण बितेपछि तीन जना बालबालिका समस्यामा परेका थिए। तीमध्ये दुई छोरीलाई दृष्टि फाउन्डेसनले उद्धार गरेर अध्ययन गराइरहेको छ भने उनीहरूको भाइ आफन्तको सहारामा कठिन अवस्थामा बस्दै आएका थिए। आर्थिक अवस्था कमजोर भएका कारण उनीसँग राम्रो लुगा समेत नभएको बताइएको छ।
उक्त बालकलाई विद्यालय भर्नाका लागि दुर्गालक्ष्मी विद्यालय लगिएको थियो। तर विद्यालय प्रवेशमै उनको पहिरनलाई लिएर टिप्पणी गरिएको तथा भर्ना बन्द भएको भन्दै सहयोगी व्यवहार नपाएको कल्पना भट्टको गुनासो छ। उनले बालकको पीडादायी अवस्था सुनाउँदा पनि विद्यालय प्रशासन संवेदनशील नदेखिएको उल्लेख गरेकी छन्।
घटनापछि ती बालकले “मैले पाइन्ट नलगाएको भएर होला” भन्दै आँसु झारेको प्रसंगले धेरैलाई भावुक बनाएको छ। कल्पना भट्टले “गरिब हुनु कुनै अपराध होइन” भन्दै समाजलाई असहाय बालबालिकाप्रति मानवीय व्यवहार गर्न आग्रह गरेकी छन्।

 

 

The post अत्तरियाको विद्यालयमा असहाय बालकप्रति गरिएको व्यवहारले उठायो मानवीयताको प्रश्न appeared first on .

Copyright © All rights reserved. | Newsphere by AF themes.