June 22, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्यान्कर इकाईमा पुनः पुष्कर गुरुङ चयन

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्यान्कर इकाई कमिटीको छैटौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट पुनः पुष्कर गुरुङ चयन भएका छन्। कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिम ज्वाला राई प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
उक्त कार्यक्रममा विभिन्न यातायात प्रालिका पदाधिकारी, नेपाल यातायात राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष लगायत श्रमिक तथा व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा विशेषगरी यातायात क्षेत्रमा कार्यरत श्रमिकहरूको हकहित, सामाजिक सुरक्षा तथा दुर्घटनापछिको उपचार व्यवस्थाका विषयमा व्यापक छलफल गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका प्रदेश अध्यक्ष ललित चन्दले यातायात श्रमिकहरूलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्नेमा जोड दिए। उनले श्रमिकको भविष्य सुरक्षित बनाउन राज्य र सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने बताए।
त्यसैगरी, सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले यातायात व्यवसायी र मजदुर एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनले सरकारसँग आवश्यक कानुन निर्माण गरी दुर्घटनापछिको बीमाबाट उपलब्ध गराइने उपचार रकम वृद्धि गर्नुपर्ने तथा घाइतेको सम्पूर्ण उपचार बीमाबाट नै सुनिश्चित हुनुपर्ने धारणा राखे।
कार्यक्रममा प्रमुख अतिथि भिम ज्वाला राईले  बालेन शाह नेतृत्वको सरकारले यातायात मन्त्रालय हटाएको विषयप्रति आक्रोश व्यक्त गर्दै यसले यातायात मजदुर तथा व्यवसायीको भावना विपरीत काम गरेको बताए। उनले अब आन्दोलनको विकल्प नरहेको चेतावनी समेत दिए।
अधिवेशनका क्रममा केही ट्यान्कर व्यवसायीहरूले समय अभाव देखाउँदै मजदुरका समस्याबारे खुला रूपमा बोल्न नमानेर कार्यक्रमबीचमै बाहिरिएका थिए। यद्यपि, केही व्यवसायीहरूले भने आन्दोलनको अवस्था सिर्जना हुन नदिन संवाद र छलफलमार्फत समस्याको समाधान खोज्नुपर्ने धारणा व्यक्त गरेका थिए।
ट्यान्कर मजदुरहरूको उल्लेख्य सहभागिता रहेको उक्त अधिवेशनमा श्रमिक अधिकार, सामाजिक सुरक्षा, बीमा व्यवस्था तथा यातायात क्षेत्रका समसामयिक समस्याबारे गम्भीर छलफल भएको आयोजकले जनाएको छ।

The post नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्यान्कर इकाईमा पुनः पुष्कर गुरुङ चयन appeared first on .

Copyright © All rights reserved. | Newsphere by AF themes.