June 22, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

स्वस्थ बालबालिका, समृद्ध नगर: कृष्णपुर नगरपालिका ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषित  खोप सेवालाई दिगो बनाउन बजेटमै समेट्ने रणनीतिक संकल्प

कृष्णपुर: “पूर्ण खोप, स्वस्थ बालबालिका: समृद्ध कृष्णपुरको आधार” भन्ने मूल नाराका साथ कञ्चनपुरको कृष्णपुर नगरपालिकामा “पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना घोषणा सभा” सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल सरकारको राष्ट्रिय खोप अभियान अन्तर्गत रोगहरूको नियन्त्रण, निवारण र उन्मूलन गरी खोपको दिगोपना कायम राख्ने उद्देश्यका साथ नगरपालिकाको सभाहलमा सो कार्यक्रम आयोजना गरिएको हो। नगरपालिकाभित्रका लक्षित उमेर समूहका सम्पूर्ण बालबालिकाहरूले पूर्ण रूपमा खोप पाएको सुनिश्चित गर्दै आगामी दिनमा समेत यसलाई निरन्तरता दिने प्रतिबद्धताका साथ यो घोषणा सभा आयोजना गरिएको हो।

​बाल मृत्युदर र अपाङ्गता न्यूनीकरण गर्दै बालबालिकाको आधारभूत स्वास्थ्य अधिकार सुनिश्चित गर्नका लागि राष्ट्रिय खोप कार्यक्रम नेपालको सार्वजनिक स्वास्थ्य रणनीतिको सबैभन्दा सफल र प्रभावकारी आधारशिला रहँदै आएको छ। यस कार्यक्रमले व्यक्ति मात्र नभई समग्र समाजलाई नै संक्रामक रोगहरूको जोखिमबाट बचाई दीर्घकालीन स्वास्थ्य सुरक्षा प्रदान गर्न सबल जग बसाल्छ। प्रतिवेदन अनुसार, नियमित खोपले संक्रामक रोगको भार कम गरी बाल्यावस्थालाई सुरक्षित बनाउनुका साथै बालबालिका वयस्क हुँदा उनीहरूको कार्यक्षमता र उत्पादकत्वमा वृद्धि भई राष्ट्रको आर्थिक वृद्धिमा मद्दत पुग्छ। यसका साथै, स्वास्थ्यमा हुने भवितव्य र आकस्मिक खर्च (Out-of-pocket expenditure) न्यूनीकरण भई विपन्न परिवारहरू आर्थिक जोखिमबाट जोगिने प्रतिवेदनमा उल्लेख छ।

 राष्ट्रिय खोप कार्यक्रम : हेर्नुहोस् उक्त प्रतिवेदनको पिडिएफ फाइल

​कृष्णपुर नगरपालिकाले कुनै पनि बालबालिका खोपको पहुँचबाट नछुटून् र प्राप्त उपलब्धिको दिगोपना सुनिश्चित होस् भन्नका लागि वार्षिक कार्य सञ्चालन चक्र अनुसार चक्रीय दृष्टिकोण अपनाएको छ। जस अन्तर्गत माघदेखि चैत महिनासम्म स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरू मार्फत सघन घरधुरी सर्वेक्षण गरी ०-१५ महिना, १६-२३ महिना र २४-४९ महिनाका बालबालिकाहरूको ‘लाइन लिस्टिङ’ तयार गरी तथ्याङ्क अद्यावधिक गरिएको छ ।

​नगरपालिकाले सञ्चालन गरेको सर्वेक्षणका क्रममा खोप पाउनबाट छुटेका बालबालिकाहरूलाई पहिचान गरी खोप लगाइएको विस्तृत विवरण प्रतिवेदनमा समेटिएको छ। सर्वेक्षणका क्रममा १६ देखि २३ महिनासम्मका खोप पाउनबाट छुटेका विभिन्न वडाका कुल १८ जना र २४ देखि ५९ महिना समूहका कुल २१ जना बालबालिका फेला परेका थिए, जसलाई खोजेर दादुरा-रुबेला र अन्य छुटेका खोपहरू लगाई पूर्ण खोपको दायरामा ल्याइएको छ । हाल नगरभित्रका विभिन्न खोप केन्द्रहरूमा ० देखि १५ महिना सम्मका कुल १,१३१ जना बालबालिकाहरू खोप कार्ड प्राप्त गरी नियमित खोपको दायरामा रहेका छन्। त्यस्तै पूर्ण खोप समायोजन स्थिति हेर्दा १६ देखि २३ महिना उमेर समूहका कुल १,०१९ जना र २४ देखि ५९ महिना उमेर समूहका कुल १,७३७ जना बालबालिकाहरूले पूर्ण खोप प्राप्त गरिसकेको विवरण प्रतिवेदनले देखाएको छ।

​घोषणा सभामा बोल्दै नगरका जनप्रतिनिधि र सरोकारवालाहरूले पूर्ण खोपको अवस्था कायम राख्नु कुनै एक पटकको औपचारिक घोषणा मात्र नभई यो कृष्णपुर नगरपालिकाको स्थायी संवैधानिक र विकासमूलक दायित्व भएको कुरामा जोड दिएका छन्। कार्यक्रममा नगरपालिकाभित्रका नौवटै वडाका स्वयंसेविकाहरूको प्रतिनिधित्व गर्दै सबै वडाका स्वयंसेविकाहरूलाई एकएक गर्दै सम्मान गरिएको थियो। कार्यक्रम कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाको सभापतितब तथा जिल्ला समन्वय समिति तथा जिल्ला खोप समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहराको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो। त्यसैगरी कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख रामकुमारी राना, कृष्णपुर नगरपालिका उपप्रमुख द्रोपती राना, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्ट, कृष्णपुर ८ का वडा अध्यक्ष दिनेश खड्का, जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख दीपेन्द्रसिंह रावल, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश धामी, कृष्णपुर स्वास्थ्य शाखा प्रमुख बंसीराज भट्ट लगायत नगरपालिकाका विभिन्न नौवटै वडाका स्वयंसेविकाहरूको सहभागिता रहेको थियो।

कञ्चनपुरका प्रमुख खोप सेवाको दिगोपना बाह्य सहयोगमा मात्र निर्भर नहुने भएकाले यसको सफलताका लागि स्थानीय सरोकारवालाहरूको निरन्तर संलग्नता र स्वामित्व अनिवार्य रहने निष्कर्ष निकालिएको छ। यसै कुरालाई आत्मसात गर्दै नगरपालिकाले रणनीतिक संकल्प गरेको छ, जस अनुसार पूर्ण खोप सुनिश्चितता र यसको दिगोपनाका सम्पूर्ण कार्यहरूलाई कृष्णपुर नगरपालिकाको वार्षिक बजेट र नीति तथा कार्यक्रममा अनिवार्य रूपमा समावेश गरिनेछ। घरधुरी सर्वेक्षण र ९५% भन्दा बढी कभरेज मार्फत प्राप्त हुने ‘हार्ड इम्युनिटी’ लाई जोगाइराख्न र नगरलाई पूर्ण खोपयुक्त राखिरहन स्थानीय सरकार सधैँ क्रियाशील रहने प्रतिबद्धताका साथ कार्यक्रमको समापन गरिएको छ।

The post स्वस्थ बालबालिका, समृद्ध नगर: कृष्णपुर नगरपालिका ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषित  खोप सेवालाई दिगो बनाउन बजेटमै समेट्ने रणनीतिक संकल्प appeared first on .

Copyright © All rights reserved. | Newsphere by AF themes.