लालझाडी आधारभूत अस्पतालमा असार ११ गते नि:शुल्क स्वास्थ्य शिविर: विशेषज्ञ डाक्टर र औषधि सबै कुरा नि:शुल्क
लालझाडी: पछिल्लो समय स्वास्थ्य सेवा प्रवाह र कार्यसम्पादनमा कञ्चनपुर जिल्लामै अग्रणी स्थान ओगट्न सफल लालझाडी गाउँपालिकाले आफ्ना नागरिकका लागि घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ एक दिने वृहत् ‘नि:शुल्क एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर’ आयोजना गर्ने भएको छ । लालझाडी गाउँपालिकाको आयोजना तथा केयरटेकर हस्पिटल प्रा.लि. धनगढीको प्राविधिक सहयोगमा आगामी असार ११ गते बिहीबारका दिन यो शिविर सञ्चालन हुन लागेको हो ।
गाउँपालिकाका अनुसार लालझाडी-०३, नन्दगाउँस्थित लालझाडी आधारभूत अस्पतालमा बिहान १०:०० बजेदेखि अपराह्न ०४:०० बजेसम्म शिविर सञ्चालन हुनेछ. यस शिविरमा विशेषगरी हाडजोर्नी तथा नसा रोग, दन्त चिकित्सा र सामान्य चिकित्सा (General Physician) सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा बिरामीहरूको नि:शुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिनेछ. यसका साथै आधुनिक प्रविधियुक्त सेवाहरू जस्तै एक्स-रे (X-Ray), मुटुको जाँच (ECG), प्रयोगशाला (Lab) सेवा तथा नेबुलाइजर सेवा समेत नागरिकले बिनाकुनै शुल्क प्राप्त गर्नेछन् ।
विशेषगरी ग्रामीण क्षेत्रका महिलाहरूको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण (VIA Screening) को विशेष व्यवस्था मिलाइएको छ । शिविरमा आउने बिरामीहरूलाई डाक्टरको सिफारिस बमोजिमका आवश्यक औषधिहरू नि:शुल्क वितरण गरिनुका साथै जटिल प्रकृतिका रोग तथा समस्या भएका बिरामीहरूका लागि नि:शुल्क प्रेषण (Referral) सेवाको समेत प्रबन्ध गरिएको छ । मोटोपना, कुपोषण र जीवनशैली सुधार (Diet & Exercise) सम्बन्धी परामर्श समेत उपलब्ध हुने यस शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिन गाउँपालिकाले सम्पूर्ण सर्वसाधारणमा अनुरोध गरेको छ ।
स्वास्थ्य क्षेत्रमा लालझाडीको कसिलो जग र गौरवपूर्ण इतिहास छ । अहिले आयोजना हुन लागेको यो वृहत् विशेषज्ञ स्वास्थ्य शिविर गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गर्दै आएको निरन्तर सुधार र जनमुखी प्रयासकै एउटा कडी हो । यसअघि पनि लालझाडी गाउँपालिकाले स्वास्थ्य प्रगति सूचक तथा कार्यसम्पादन मूल्यांकनका आधारमा जिल्लाभरिबाटै गौरवपूर्ण प्रथम स्थान हासिल गरेर आफ्नो अब्बल पहिचान बनाइसकेको छ ।
यति मात्र होइन, गाउँपालिकाअन्तर्गतको देखतभुली स्वास्थ्य चौकीले स्वास्थ्य संस्था स्तरीय न्यूनतम सेवा मापदण्ड (HPMSS) को मूल्यांकनमा उत्कृष्ट अंक ल्याउँदै जिल्लाकै सर्वोत्कृष्ट स्वास्थ्य संस्थाको गौरव पुनः आफ्नो नाममा कायम राख्न सफल भइसकेको छ ।
गाउँपालिकाको नेतृत्व, सम्पूर्ण जनप्रतिनिधिहरू, स्वास्थ्य शाखाका कर्मचारी, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सामूहिक र समर्पित प्रयासले नै लालझाडी कञ्चनपुर जिल्लाभरिकै उत्कृष्ट स्वास्थ्य सेवा प्रदायक गाउँपालिका बन्न सफल भएको हो. आफ्ना नागरिकलाई गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने गाउँपालिकाको जनमुखी नीति अनुरूप नै यो वृहत् नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको बुझिएको छ ।
The post लालझाडी आधारभूत अस्पतालमा असार ११ गते नि:शुल्क स्वास्थ्य शिविर: विशेषज्ञ डाक्टर र औषधि सबै कुरा नि:शुल्क appeared first on .