सिएफसिसी कञ्चनपुरको २२औँ वार्षिक साधारण सभा सम्पन्न: पर्यावरण संरक्षणसँगै आत्मनिर्भरतामा जोड
कृष्णपुर। “दीगो वन व्यवस्थापन, हरित अर्थतन्त्रको आधार वन वन्यजन्तु जैविक विविधता संरक्षणमा सबैको सरोकार” भन्ने मूल नाराका साथ सामुदायिक वन समन्वय समिति (सिएफसिसी) कञ्चनपुरको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कृष्णपुर नगरपालिका–५, गुलरियास्थित हरियाली सामुदायिक वनको सभाहलमा आयोजित यस साधारण सभाले वन, पर्यावरण तथा वन्यजन्तु संरक्षणका साथै स्थानीय उपभोक्तालाई आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण समीक्षा गरेको छ।
दुई दशकको प्रयासले हराभरा बन्दैछ चुरेदेखि लालझाडीसम्मको क्षेत्र
कार्यक्रममा संस्थाका अध्यक्ष महेश दत्त जोशीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै जिल्लाको चुरे क्षेत्रदेखि लालझाडी-मोहना संरक्षित करिडोरसम्म वन, पर्यावरण र वन्यजन्तु संरक्षणका क्षेत्रमा उल्लेखनीय काम भएको बताए। उनका अनुसार, दुई दशकभन्दा बढी समयको निरन्तर प्रयासले गर्दा अहिले दक्षिणमा दुधुवादेखि लालझाडी–शुक्लाफाँटा हुँदै उत्तर चुरे वनसम्मै क्षेत्र हरियाली बनेको छ। हाल ९१ वटा सामुदायिक वन आबद्ध रहेको यस समितिले वन संरक्षणसँगै विपन्न उपभोक्तालाई वैकल्पिक जीविकोपार्जनमा जोड्दै आएको छ।
चुनौतीहरू र आगामी २९ बुँदे कार्ययोजना
अध्यक्ष जोशीले वन तथा पर्यावरण संरक्षणका क्षेत्रमा छाडा पशुचौपाया व्यवस्थापन, मानव-वन्यजन्तु द्वन्द्व, चोरीसिकारी, अतिक्रमण र विदेशी काठको आयात मुख्य चुनौतीका रूपमा रहेको औँल्याए। गत आर्थिक वर्षमा संस्थागत विकास, आयआर्जन, डडेलो नियन्त्रण, विद्युतीय तारबार, घाँसे मैदान व्यवस्थापन र वन हेरालुको बीमाजस्ता कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै उनले आगामी दिनका लागि २९ बुँदे नयाँ कार्ययोजना अघि सारेका छन्। त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले दिगो वन व्यवस्थापन कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले विदेशबाट करोडौँको काठ आयात बन्द गरी स्वदेशी काठको प्रयोग बढाउन माग गरे।
विभिन्न व्यक्ति तथा संस्था सम्मानित
समारोहमा समितिका उपाध्यक्ष नरेश भट्टले संरक्षण क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै शुक्लाफाँटा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष तथा संरक्षणकर्मी बहादुर सिंह महरा, डिभिजन वन कार्यालय कञ्चनपुर तथा ऐश्वर्या, हरियाली, सिंहपुर, कृष्ण र नन्देश्वर सामुदायिक वन उपभोक्ता समूह लगायत लाई प्रमाणपत्रसहित सम्मान गरिएको जानकारी दिए।
अतिथिहरूको मन्तव्य र आर्थिक प्रतिवेदन
कार्यक्रमका प्रमुख अतिथि एवं उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले कञ्चनपुरमा सिएफसिसीले गरेका संरक्षणका कामहरू निकै प्रभावकारी रहेको भन्दै यसको दायरा थप विस्तार गर्नुपर्ने बताए। त्यस्तै, डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मीराज जोशीले वन र वन्यजन्तुको संरक्षण तथा आयआर्जन वृद्धिमा संस्थाले खेलेको भूमिकाको प्रशंसा गरे। कार्यक्रममा कोषाध्यक्ष सुमित्रा रानाले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने विभिन्न संरक्षणकर्मी तथा सरोकारवालाहरूको उत्साहजनक सहभागिता रहेको थियो।
