June 22, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

एक वर्षअघि जलेको अवस्थामा भेटिएका राना मृत्यु घटना अझै रहस्यमै,को हो त हत्यारा 

  1. एक वर्षअघि जलेको अवस्थामा भेटिएका राना मृत्यु घटना अझै रहस्यमै,को हो त हत्यारा

नरेश राना /। कञ्चनपुर

 

कञ्चनपुर। एक वर्षअघि जलेको अवस्थामा मृत भेटिएका कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ कमरीका हरिकिसन रानाको घटनाको रहस्य अझै खुलेको छैन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरसहित केन्द्रीय अनुसन्धान ब्यूरो

(सीआइबी) लगायतले पनि अनुसन्धान गरेको राना मृत्यु घटनाको गुत्थी अझै नसुल्झिएको हो। २०८२ वैशाख ९ मा राना बेलौरी नगरपालिका–१० शिवनगरमा मोटरसाइकलसंगै जलेको अवस्थामा मृत भेटिएका थिए। यो घटनाको कारण अझै यकिन खुल्न सकेको छैन।

राना मृत्युको घटना हत्या, आत्महत्या वा दुर्घटना के हो ? भन्ने विषयमा अहिले पनि प्रहरी अन्यौलमा छ। ठोस प्रमाण नभेटिएकाले केही भन्न सकिने अवस्था नरहेको र घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

शंकास्पद व्यक्तिलाई सोधपुछ गर्नेदेखि विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ। अनुसन्धानका क्रममा प्रहरीले बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।

एक वर्षै बितिसक्दा पनि घटनाको रहस्य नखुलेको विरोधमा घटनाको छानबिन माग गर्दै रानाथारु समाज, आदिवासी जनजाति महासंघलगायत विभिन्न संस्थाले शनिबार महेन्द्रनगरमा संयुक्त प्रदर्शन गरेका छन्। जिल्ला प्रशासन कार्यालय अगाडिबाट सुरु भएको ¥याली महेन्द्रनगर बजार परिक्रमा गरी मदन चोकमा पुगेर कोणसभा गरेको थियो।

“राज्यले गाउँपालिका उपाध्यक्ष शान्ति नाथलाई छोडे पनि हामी मान्दैनौँ। हाम्रो नजरमा शान्ति नाथमाथि नै शंका छ। हामीले गलत गरेका भए हामीलाई पनि सजाय होस्, हामी त्यसका लागि तयार छौँ। तर प्रहरीले शान्ति नाथलाई थुनामुक्त ग¥यो। नाथले मेरो दाइ हरकिशनलाई पटक–पटक जलाएर मार्ने धम्की दिएकी थिइन्, अन्ततः त्यस्तै भयो,” फुलमती रानाले भनिन्।

पटक पटक प्रहरी प्रशासन धाउदा लामो समय बितिसक्दा पनि न्याय नपाएको मृतकका छोरा भुवन रानाको गुनासो छ। ‘अहिलेसम्म अनुसन्धान कहाँ पुग्यो ? हामीले कहिले न्याय पाउँछौं। किटानी जाहेरी दिँदा पनि त्यो कोणबाट अनुसन्धान भएन,’ उनी भन्छन्, ‘सीआइबीको अनुसन्धानले के देखायो त्यो सार्वजनिक गनुप¥यो।’

रानाथारु सोझा जाति भएकै कारण एक वर्षसम्म न्याय नपाउने अवस्था आएको रानाथारु समाजका केन्द्रीय अध्यक्ष कमलसिंह रानाले बताए। ‘राज्यले घटनाको सुक्ष्म अनुसन्धान गरेन। घटना लुकाउने छिपाउने प्रयास भयो। सत्यतथ्य बाहिर नआए कडा आन्दोलन गर्ने छौं,’ उनले भने।

विगतमा सीआइबीले गरेको अनुसन्धानको निष्कर्ष सार्वजनिक गरिनुपर्ने उनीहरुको माग छ। प्रतिनिधिसभा सदस्य समेत रहेको रानाथारु समाजका पूर्वअध्यक्ष कृपाराम रानाले न्यायको माग गर्दै सडकमा उत्रिनुपर्ने बाध्यता दुःखद भएको बताए।

‘हरिकिसन रानाको मृत्यु कसरी भयो ? अहिलेसम्म प्रहरीले भन्न सकेको छैन,’ उनले भने, ‘यसको सत्यतथ्य छानबिन गर्नुपर्छ, अब पनि ढिलाई गर्नु हुँदैन।’

 

The post एक वर्षअघि जलेको अवस्थामा भेटिएका राना मृत्यु घटना अझै रहस्यमै,को हो त हत्यारा  appeared first on .

Copyright © All rights reserved. | Newsphere by AF themes.