धनगढीको केजी अस्पतालमा उपचाररत कृष्णपुरका दुई महिलाको मृ”त्यु: चिकित्सकको लापरबाहीको आरोप
धनगढी । धनगढीस्थित केजी अस्पतालमा उपचारका क्रममा कृष्णपुर नगरपालिकाका दुईजना महिलाको ज्यान गएको छ। अस्पताल र चिकित्सकहरूको गम्भीर लापरबाहीका कारण बिरामीको अकालमै मृत्यु भएको आरोप लगाउँदै पीडित आफन्त तथा स्थानीयहरूले उचित क्षतिपूर्ति र कडा कारबाहीको मागसहित प्रदर्शन तथा विरोध गरिरहेका छन्।
दुई अलग-अलग घटनामा दुई महिलाको ज्यान: अस्पतालमा ज्यान गुमाउनेमा मौरी फाँटा बस्ने कालिदेवी लुहार र सुन्दरी फाँटा बस्ने समानी देवी चौधरी रहेका छन्। प्राप्त जानकारी अनुसार, मृतक कालिदेवी लुहारलाई तीन-चार दिनदेखि स्वास्थ्य अवस्था बिग्रिएपछि थप उपचारका लागि हिजो मात्रै अत्तरियाबाट केजी अस्पताल ल्याइएको थियो। उनको मृत्युको कारण अस्पताल होइन सामान्य अवस्था हो, भन्ने बुझिएको छ। आज बिहान ९:३० बजे मात्र उनको मृत्यु भएको थियो।
सञ्जीवनी अस्पताल हुँदै केजी पुर्याइएकी समानी चौधरीको मृत्युबारे गम्भीर आरोप
यसैगरी, सुन्दरी फाँटाकी ५० वर्षीया समानी देवी चौधरी पिसाब नलीमा रहेको पत्थरीको उपचारका लागि सुरुमा धनगढीकै सञ्जीवनी अस्पताल गएकी थिइन्। सञ्जीवनी अस्पतालमार्फत उनी शल्यक्रिया (अप्रेसन) का लागि केजी अस्पतालमा आएको मृतकका छोराले बताएका छन्। पीडित परिवारका अनुसार घरबाट अस्पताल आउँदा ५० वर्षीय समानी चौधरी राम्ररी हिँडडुल गर्न सक्ने पूर्ण रूपमा स्वस्थ अवस्थामा थिइन्।

अघिल्लो दिन करिब दिउँसो १ बजे उनको शल्यक्रिया गरिएको थियो। तर, शल्यक्रियाका क्रममा एनेस्थेसियाको डोज दिने क्रममा चिकित्सकहरूको लापरबाहीले उनको मृत्यु भइसकेको भए पनि अस्पताल प्रशासनले राति ९ बजे मात्रै जानकारी गराएको परिवारको आरोप छ। त्यो बीचको समयमा आफूहरूले पटक-पटक बिरामीको अवस्था बुझ्न खोज्दा पनि अस्पतालले भेट्न दिएको थिएन। प्रहरीका अनुसार समानी चौधरीको राति पौने १० बजेतिर मृत्यु भएको थियो।
तनाव बढेपछि प्रहरी परिचालन
केजी हस्पिटल र चिकित्सकहरूको प्रत्यक्ष लापरबाहीका कारण चौधरीको मृत्यु भएको दाबी गर्दै आफन्तहरूको भीड अस्पताल बाहिर जम्मा भइरहँदा स्थिति नियन्त्रणभन्दा बाहिर जान नदिन र शान्ति सुरक्षा कायम गर्न वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक बलराम पाण्डेको नेतृत्वमा भारी मात्रामा प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ। अहिले पीडित परिवार र सम्बन्धित पक्षबीच छलफल तथा वार्ताका प्रयासहरू भइरहेका छन्।
