August 25, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

बसपार्क दुर्घटनाबारे ‘आक्रोशको अभिव्यक्ति’प्रति यातायात मजदुर संगठनको आपत्ति

अतरिया । कैलालीको अत्तरिया बसपार्कमा भदौ ७ गते अपराह्न भएको सडक दुर्घटनाका विषयमा प्रतिनिधिसभा सदस्य ऐन महरले व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले गम्भीर ध्यानाकर्षण जनाएको छ। संगठनले दुर्घटनाको सत्यतथ्य र प्रमाणको उचित अध्ययन नगरी यातायात श्रमिक तथा चालकलाई दोषी देखाउने गरी अभिव्यक्ति दिनु उचित नभएको जनाएको हो।
महाकाली यातायातको बससँग सम्बन्धित दुर्घटनामा  ५३ वर्षीया  सिन्की बोहरा को  मृत्यु भएको घटनाप्रति संगठनले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
संगठनका अनुसार सडक दुर्घटना अत्यन्तै दुःखद र संवेदनशील घटना भए पनि घटनाको अनुसन्धान र प्रमाणको आधारमा मात्रै दोष तथा जिम्मेवारी निर्धारण गरिनुपर्छ। संगठनले स्थानीय प्रहरी कार्यालय मालाखेती, अत्तरियामा सुरक्षित रहेको सीसीटीभी फुटेज तथा प्रत्यक्षदर्शीका बयानलगायतका प्रमाणबाट घटनाको वास्तविकता पत्ता लगाउनुपर्नेमा जोड दिएको छ ।
संगठनले संसद्मा जनताको प्रतिनिधित्व गर्ने सांसदले उठाउने विषय तथ्यपरक र प्रमाणमा आधारित हुनुपर्ने भन्दै निर्दोष चालकलाई अपराधीका रूपमा चित्रित गर्ने तथा समग्र यातायात श्रमिक समुदायमाथि नैतिक र सामाजिक आरोप लगाउने अभिव्यक्ति स्वीकार्य नहुने जनाएको छ।
संगठनका तीन माग
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले अत्तरिया दुर्घटनाको विषयमा तीनवटा प्रमुख माग अघि सारेको छ।
१. सीसीटीभी फुटेज, प्रहरी अनुसन्धान, प्रत्यक्षदर्शीको बयान तथा अन्य प्रमाणका आधारमा दुर्घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने।
२. सांसद ऐन महरले संसद्मा व्यक्त गरेको तथ्यहीन तथा यातायात श्रमिकमाथि मानमर्दन हुने अभिव्यक्तिप्रति सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने।
३. पीडित परिवारलाई कानुनअनुसार क्षतिपूर्ति उपलब्ध गराउँदै न्याय दिलाउनुपर्ने तथा निर्दोष चालकलाई अन्याय नहुने गरी कानुनी प्रक्रिया अघि बढाउनुपर्ने।
संगठनले आफ्ना मागप्रति बेवास्ता गर्दै तथ्यहीन अभिव्यक्तिबारे क्षमायाचना नगरिए देशभरका यातायात श्रमिकमाथि भएको अन्याय, अपमान र पूर्वाग्रहविरुद्ध लोकतान्त्रिक तथा शान्तिपूर्ण रूपमा प्रतिवाद गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।
यसैबीच, यातायात मजदुर संगठनले चालकलाई मात्रै दोषी देखाउने प्रवृत्तिको विरोध गर्दै दुर्घटनाको अनुसन्धानमा सडक, सवारी, प्रविधि र नियमन प्रणालीको भूमिकासमेत हेर्नुपर्ने धारणा राख्दै आएको छ।

मिर्तक बोहरा अतरिया बसपार्क मा हातमा पानी र अन्य खाद्य सामाग्री बिक्री गर्दै आएकी थिन ।

व्यापार गर्न पाउने सबै को अधिकार छ तर ब्यबस्थित रुप ले  बिक्री गरि यस्ता घटना नदोहोरिन दिन राज्य ले देस ब्यापी ठोस कदम चाल्न पर्ने मजदुर हरु बताउछ्न ।यस्ता हाते व्यापार हरु देसका विभिन्न ठाउँ हरुमा हुने गरेको पाइन्छ चल्दै गरेको गाडी मा चड्ने गाडी को वरिपरि गएर  यसरी बेच्ने गरेको प्रत्यक्ष देख्न सकिन्छ ।

Copyright © All rights reserved. | Newsphere by AF themes.