सार्वजनिक यातायातमा नीतिगत रूपान्तरण गर्दै सरकार, डिजेल गाडी विस्थापन गर्ने योजना
काठमाडौं । सरकारले सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन बीआरटी (Bus Rapid Transit) मोडलसहित नीतिगत रूपान्तरणको प्रक्रिया अघि बढाएको जनाएको छ।पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले शुक्रबार मन्त्रालयमा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघसँग भएको छलफलमा सार्वजनिक यातायातको दीर्घकालीन व्यवस्थापनका विषयमा सरकारको योजना सार्वजनिक गरेका हुन्।
मन्त्री लम्सालका अनुसार सरकार अब डिजेल तथा पेट्रोलबाट चल्ने सार्वजनिक सवारीको पक्षमा नरहेको र क्रमशः देशभरका सिटी बस, लामो दूरीका बस तथा ट्याक्सीलाई विद्युतीय सवारी (ईभी) मा रूपान्तरण गर्ने योजनाका साथ अघि बढेको छ।
व्यवसायीको परामर्शबिना नयाँ यातायात ऐन नल्याउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री लम्सालले व्यवसायीलाई अहिले डिजेल गाडीमा लगानी गरेर पछि विद्युतीय सवारी अनिवार्य हुँदा आर्थिक क्षति नहोस् भन्ने उद्देश्यले नै कालो नम्बर प्लेटको दर्तामा कडाइ गरिएको बताए।
सरकारले सार्वजनिक यातायात व्यवस्थापनका लागि एसियाली विकास बैंक (एडीबी) र मन्त्रालयको समन्वयमा पहिलो चरणमा पोखरा, त्यसपछि काठमाडौं र लुम्बिनीमा काम अघि बढाइसकेको जनाएको छ।छलफलका क्रममा सार्वजनिक यातायात क्षेत्रको सुधार, विद्युतीय सवारीको विस्तार तथा आगामी यातायात नीतिका विषयमा व्यवसायी र सरकारबीच छलफल भएको थियो।
यसैबीच, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा ९१ लाख ८४ हजार ६ सय ९५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ।
The post सार्वजनिक यातायातमा नीतिगत रूपान्तरण गर्दै सरकार, डिजेल गाडी विस्थापन गर्ने योजना appeared first on .
