सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघको नवौं वार्षिक साधारण सभा सम्पन्न: ज्ञानेन्द्र बहादुर सिंह अध्यक्षमा निर्विरोध निर्वाचित
धनगढी: सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघको नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन मिति २०८३ जेठ १८ गते सोमबार धनगढी, कैलालीस्थित होटल सोराईमा सफलतापूर्वक सम्पन्न भयो। नेपाल तेक्वान्दो संघको आधिकारिक छत्रछायामा आयोजित उक्त अधिवेशनमा सुदूरपश्चिमका विभिन्न जिल्लाका तेक्वान्दो प्रतिनिधिहरूको उपस्थितिमा नयाँ कार्यसमितिको समेत चयन गरिएको थियो। जसमा अनुभवी खेलकुद प्रशासक एवं कञ्चनपुर जिल्ला खेलकुद संघका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंह सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।
लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय रहँदै आएका सिंहको निर्विरोध चयनलाई उपस्थित प्रतिनिधिहरूले उत्साहपूर्वक स्वागत गरे र यसलाई खेलकुद प्रशासनप्रतिको उनको दीर्घकालीन समर्पण तथा विश्वासको प्रतिफलका रूपमा लिइएको छ। उपाध्यक्षमा पदम विक्रम सिंह र द्विपेन्द्र कुँवर, कोषाध्यक्षमा श्रीराज चौधरी निर्वाचित हुँदा सदस्य पदमा लोग बहादुर बुढा, हेमबहादुर बस्नेत, गजेन्द्र डगौंरा, जय पृथ्वी चन्द, महेश्वर ओझा, सविता ऐर, पार्वती भट्ट जोशी, विक्रम ठकुल्ला छानिएका छन् । तेक्वान्दो क्षेत्रमा क्रियाशील सदस्यहरूको बलियो उपस्थितिले नवगठित कार्यसमितिलाई थप सक्रिय र अनुभवी बनाउने अपेक्षा गरिएको छ।
यसैबीच, संघको तत्काल प्रशासनिक आवश्यकतालाई मध्यनजर गर्दै लोग बहादुर बुढालाई उक्त कार्यक्रमबाटै आजका मितिदेखि संघको सचिव पदमा समेत मनोनित गरिएको छ, जसले गर्दा संघको दैनिक कामकाज र प्रशासनिक कारबाहीहरू तत्काल अगाडि बढाउन सहज हुने विश्वास गरिएको छ।
नवनिर्वाचित अध्यक्ष सिंहको बलियो नेतृत्व, बस्नेतको अनुभव र लोग बुढाको सक्रिय सचिवीय भूमिकाका साथै गजेन्द्र डंगौरा लगायतका सदस्यहरूको संयोजनबाट सुदूरपश्चिम प्रदेशमा तेक्वान्दो खेलको विकास, विस्तार र युवा प्रतिभाको उत्थानमा नवगठित कार्यसमितिले नयाँ उचाइ हासिल गर्ने प्रबल आशा राखिएको छ।
धनगढीको सोराई होटेलको सभा हलमा आज भएको भव्य समारोहमा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको सभाध्यक्षता सुदूरपश्चिम प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष सरोज चौधरीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री माननीय मेघराज खड्का रहेका थिए। त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथिका रूपमा तेक्वान्दो खेललाई नेपालमा भित्र्याएका, नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय अध्यक्ष श्री दीपराज गुरुङ र अतिथिका रूपमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्री लोक बहादुर खड्का (रवि) को गरिमामय उपस्थिति रहेको थियो।

उपाध्यक्ष पदमा नवनिर्वाचित पदम विक्रम सिंहले कुशलतापूर्वक सञ्चालन गरेको उक्त कार्यक्रमले नयाँ समिति गठन भएपश्चात् आयोजित विशेष समारोहमा सुदूरपश्चिम प्रदेश सङ्घका नवनिर्वाचित अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंहले सभाध्यक्षको रुपमा मन्तव्य राख्दै कार्यक्रमको औपचारिक समापन गरेका थिए।

The post सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघको नवौं वार्षिक साधारण सभा सम्पन्न: ज्ञानेन्द्र बहादुर सिंह अध्यक्षमा निर्विरोध निर्वाचित appeared first on .