June 22, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

लालझाडीको देखतभुली स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट: HPMSS मूल्यांकनमा ९६.३९ प्रतिशत अंक

लालझाडी: लालझाडी गाउँपालिकाको देखतभुली स्वास्थ्य चौकीले यस आर्थिक वर्ष २०८२/८३ मा जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरद्वारा सञ्चालित न्यूनतम सेवा मापदण्ड (HPMSS) अन्तर्गतको मूल्यांकन स्कोरिङमा ९६.३९ प्रतिशत अंक हासिल गर्दै जिल्लाकै उत्कृष्ट स्वास्थ्य संस्थाको गौरव पुनः आफ्नो नाममा कायम राख्न सफल भएको छ।

जिल्ला स्वास्थ्य कार्यालयले प्रत्येक छ-छ महिनामा जिल्लाभरिका स्वास्थ्य चौकीहरूको सुशासन र व्यवस्थापन, क्लिनिकल सेवा र सहयोगी सेवागरी तीन प्रमुख खण्डमा मूल्यांकन गर्दै आएको छ, जसमा ८५ प्रतिशतभन्दा बढी अंक ल्याउने संस्थालाई मात्र उत्कृष्ट घोषणा गरिन्छ। यस मूल्यांकनमा देखतभुली स्वास्थ्य चौकीले सुशासन र व्यवस्थापन खण्डमा १९.२९, क्लिनिकल सेवा खण्डमा ५८.३२ र सहयोगी सेवा खण्डमा १८.०८ प्रतिशत अंक प्राप्त गर्दै जम्मा ९६.३९ प्रतिशत अंकसहित हरियो (Green) श्रेणीमा प्रथम स्थान पाएको छ।

मूल्यांकन टोलीमा जय राज भट्ट, खगेन्द्र चौधरी र दशरथ राना सामेल थिए भने स्वास्थ्य चौकी प्रमुखको रूपमा श्री लिलाकान्त झाको नेतृत्वमा सम्पूर्ण कर्मचारीहरूले उत्कृष्ट टिमवर्क प्रदर्शन गरेको यस उपलब्धिको श्रेय जान्छ। सुशासनदेखि संगठनात्मक व्यवस्थापन, मानव संसाधन, वित्तीय व्यवस्थापन र सूचना व्यवस्थापनसम्म सबै उपखण्डमा शतप्रतिशत अंक हासिल गर्नु अत्यन्त उल्लेखनीय उपलब्धि हो। क्लिनिकल सेवा अन्तर्गत खोप, परिवार नियोजन, DOTS क्लिनिक, ड्रेसिङ तथा प्रयोगशाला सेवामा पनि शतप्रतिशत नतिजा हासिल गरेको यस चौकीले प्रसूति सेवा र OPD सेवामा पनि ९५ प्रतिशतभन्दा माथिको अंक ल्याएको छ।

 

यस उपलब्धिप्रति लालझाडी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरी तथा स्वास्थ्य चौकी प्रमुख लिलाकान्त झाले सम्पूर्ण सहकर्मी तथा यस पुनीत कार्यमा सहयोग गर्ने सबै हातहरूप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै यो उपलब्धि समुदायकै सेवामा समर्पित रहने प्रतिबद्धता दोहोर्‍याएका छन्।

The post लालझाडीको देखतभुली स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट: HPMSS मूल्यांकनमा ९६.३९ प्रतिशत अंक appeared first on .

Copyright © All rights reserved. | Newsphere by AF themes.