धनगढीमा ट्राफिक व्यवस्थापनका लागि कन्भेक्स मिरर जडान
धनगढी : धनगढी उपमहानगरपालिका क्षेत्रस्थित बसपार्क जाने घुम्ती सडकमा सवारी आवागमनलाई सहज बनाउन कन्भेक्स मिरर (Convex Mirror) जडान गरिएको छ। राष्ट्रिय यातायात व्यवसायी भलाइकोष र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको संयुक्त लगानीमा जडान गरिएको उक्त मिरर राष्ट्रिय यातायात व्यवसायी भलाइकोषका सुदूरपश्चिम इन्चार्ज लक्की शाह तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रदेश सदस्य अमर बिष्टको पहलमा स्थापना गरिएको हो।
उक्त स्थानमा घुम्ती सडक तथा सडकछेउ पसलहरू रहेका कारण विपरीत दिशाबाट आउने सवारी साधन सहजै नदेखिने समस्या थियो। यसले बारम्बार ट्राफिक जाम हुने, सवारी साधन ब्याक गर्नुपर्ने तथा दुर्घटनाको जोखिम बढ्ने अवस्था सिर्जना गरेको थियो। कन्भेक्स मिरर जडान भएपछि चालकहरूले टाढैबाट विपरीत दिशाको अवस्था अवलोकन गर्न सक्ने भएकाले ट्राफिक जाम न्यूनीकरण तथा सवारी सञ्चालनमा सहजता आउने बताइएको छ।
मिरर जडान कार्यक्रमको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत ट्राफिक प्रहरी हवल्दार हेमराज जोशी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रदेश अध्यक्ष ललित चन्द, विभिन्न चालक, मजदुर तथा स्वरोजगार मजदुरहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी हवल्दार हेमराज जोशीले चालकहरूको सुविधा र ट्राफिक व्यवस्थापनका लागि गरिएको यो कार्य अत्यन्तै सराहनीय रहेको बताए। त्यसैगरी प्रदेश अध्यक्ष ललित चन्दले चालक तथा मजदुरहरूको हितलाई केन्द्रमा राखेर गरिएको यस्तो पहल महत्वपूर्ण र उदाहरणीय रहेको उल्लेख गरे।
स्थानीय स्तरमै गरिएको यस प्रयासले सडक सुरक्षा, ट्राफिक व्यवस्थापन तथा चालकहरूको दैनिक कार्यसम्पादनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
The post धनगढीमा ट्राफिक व्यवस्थापनका लागि कन्भेक्स मिरर जडान appeared first on .