June 22, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

आधुनिक खेल सामग्रीको माग गर्दै, सुदूरपश्चिम तेक्वान्दो सङ्घको पहल, बजेट छुट्याइने संकेत

धनगढी: सुदूरपश्चिम प्रदेशमा तेक्वान्दो खेलको विकास, विस्तार तथा प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सुदूरपश्चिम तेक्वान्दो सङ्घले प्रदेश सरकारसमक्ष आवश्यक खेल सामग्रीका लागि बजेट माग गरेको छ। यसै क्रममा सङ्घका पदाधिकारीहरूले आज प्रदेश आर्थिक मामिला मन्त्री बहादुर सिंह थापा तथा सामाजिक विकास मन्त्री मेघराज खड्कालाई भेटी तेक्वान्दो खेल सञ्चालनका लागि अत्यावश्यक मानिने इलेक्ट्रोनिक सेन्सर तथा म्याट खरिदका लागि बजेट व्यवस्था गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।

नेपाल तेक्वान्दो संघका वरिष्ठ उपाध्यक्ष भानबहादुर चन्दको नेतृत्वमा सुदूरपश्चिम तेक्वान्दो सङ्घका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंह, उपाध्यक्ष पदम विक्रम सिंह, सचिव लोगबहादुर बुढा तथा सदस्यहरू हेमबहादुर बस्नेत, गजेन्द्र डगौंरा लगायतको टोली मन्त्रालयमै पुगेर प्रदेशभर तेक्वान्दो खेलाडी उत्पादन, प्रशिक्षण तथा प्रतियोगिता सञ्चालनमा आधुनिक खेल सामग्रीको अभाव रहेको विषयमा ध्यानाकर्षण गराएको थियो। ज्ञापनपत्र बुझ्दै दुवै मन्त्रीहरूले तेक्वान्दो खेलको महत्वलाई स्वीकार गर्दै आवश्यक बजेट विनियोजनका लागि सकारात्मक पहल गर्ने आश्वासन दिएको टोलीले जनाएको छ।

पछिल्ला वर्षहरूमा नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा पदक दिलाउने प्रमुख खेलमध्ये तेक्वान्दो पनि एक भएकाले यसको विकासमा राज्यको लगानी अपरिहार्य रहेको खेलकर्मीहरूको भनाइ छ। अनुशासन, आत्मरक्षा, शारीरिक तथा मानसिक सुदृढीकरणका साथै युवाहरूलाई सकारात्मक मार्गतर्फ उन्मुख गराउने महत्वपूर्ण माध्यमका रूपमा स्थापित तेक्वान्दो खेलले देशको खेल क्षेत्रको उन्नयनमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ। विशेषगरी सुदूरपश्चिम प्रदेशमा थुप्रै प्रतिभावान खेलाडीहरू भए पनि पर्याप्त पूर्वाधार, आधुनिक उपकरण तथा नियमित प्रशिक्षण सामग्रीको अभावका कारण उनीहरूले आफ्नो क्षमता पूर्ण रूपमा प्रदर्शन गर्न नसकेको अवस्था रहेको सङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय नियमअनुसारका प्रतियोगिता सञ्चालन तथा खेलाडीको स्तर मापन गर्न इलेक्ट्रोनिक सेन्सर र गुणस्तरीय म्याट अनिवार्य हुने भएकाले ती सामग्रीको व्यवस्थापन भएमा प्रदेशका खेलाडीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा अझ प्रतिस्पर्धी बन्ने विश्वास व्यक्त गरिएको छ। तेक्वान्दो खेलमार्फत युवाहरूलाई स्वस्थ, अनुशासित र जिम्मेवार नागरिक बनाउन सकिने भएकाले यसको दीर्घकालीन विकासका लागि प्रदेश सरकार, स्थानीय तह र सरोकारवाला निकायहरूबीच सहकार्य आवश्यक रहेको सङ्घको धारणा छ। मन्त्रीहरूसँगको भेटघाटपछि सङ्घका प्रतिनिधिहरूले सरकारबाट प्राप्त सकारात्मक आश्वासनले प्रदेशमा तेक्वान्दो खेलको भविष्यप्रति थप आशावादी बनाएको टोलीका सदस्यहरुले बताएका छन्।

The post आधुनिक खेल सामग्रीको माग गर्दै, सुदूरपश्चिम तेक्वान्दो सङ्घको पहल, बजेट छुट्याइने संकेत appeared first on .

Copyright © All rights reserved. | Newsphere by AF themes.