SEE मा सामुदायिक विद्यालयतर्फ कृष्णपुरमै उत्कृष्ट भएका जीवनले चार ठाउँमा निकाले पूर्ण छात्रवृत्तिमा नाम
कृष्णपुर : कृष्णपुर नगरपालिका स्थित समैजी माध्यमिक विद्यालयका मेधावी विद्यार्थी जीवन भट्टले शैक्षिक क्षेत्रमा एक अभूतपूर्व उपलब्धि हासिल गरेका छन्। उनले एकै पटक चारवटा विभिन्न प्रतिष्ठित संस्थाहरूमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन्, जुन कुरा आफैँमा एक विरलै देखिने गौरवशाली उपलब्धि हो।

जीवन भट्टले धनगढी उपमहानगरपालिकाको कक्षा ११ विज्ञान तर्फ पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन्। साथै, CTEVT अन्तर्गत स्वास्थ्य सहायक (H.A.) कार्यक्रममा समेत उनले पूर्ण छात्रवृत्तिमा स्थान सुरक्षित गरेका छन्।
त्यसैगरी, काठमाडौँ महानगरपालिकाको कक्षा ११ विज्ञान तर्फ पनि उनको नाम पूर्ण छात्रवृत्तिको सूचीमा परेको छ। सबैभन्दा उल्लेखनीय कुरा के छ भने, उनले खपट मेडिकल स्टडिज एण्ड हेल्थ साइन्स, धनगढी, कैलालीको प्रवेश परीक्षामा शीर्ष स्थान (Entrance Topper) हासिल गर्दै त्यहाँ पनि पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन्, जहाँ उनले ४.७३ अंक प्राप्त गरी मेरिट कोटामा सर्वोच्च स्थान ओगटेका छन्।

निरन्तर मेहनत, लगनशीलता र अध्ययनप्रतिको समर्पणको प्रतिफलस्वरूप जीवन भट्टले यो ऐतिहासिक सफलता हासिल गरेका हुन्। उनको यस उपलब्धिले कृष्णपुर नगरपालिका तथा समग्र क्षेत्रलाई गौरवान्वित बनाएको छ।
जीवन भट्टले सामुदायिक विद्यालयतर्फ एसइइको नतिजामा कृष्णपुर नगरपालिकामै सबैभन्दा बढी GPA ल्याएका थिए । उनको आगामी शैक्षिक यात्रा अझ सफल र उज्जवल रहोस् भन्ने शुभकामना व्यक्त गरिएको छ।
The post SEE मा सामुदायिक विद्यालयतर्फ कृष्णपुरमै उत्कृष्ट भएका जीवनले चार ठाउँमा निकाले पूर्ण छात्रवृत्तिमा नाम appeared first on .