June 22, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

उदय मा.वि.का सहायक प्रधानाध्यापक महावीर चन्दको भव्य बिदाई: घरसम्मै बाजागाजासहित पुर्‍याइयो, जीवन संगिनीको योगदानको उच्च सम्मान

कृष्णपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ मा अवस्थित उदय माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक महावीर चन्द को सेवा निवृत्त जीवनको अवसरमा एक भव्य बिदाई तथा सम्मान समारोह सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर बिष्टको सभापतित्वमा आयोजित उक्त विशेष कार्यक्रममा प्रमुख अतिथिका रूपमा कृष्णपुर वडा नम्बर २ का वडा अध्यक्ष अर्जुनबहादुर साउद रहेका थिए भने विद्यालयकी शिक्षिका नारुदेवी पाण्डेले कुशल रूपमा उद्घोषण गर्दै कार्यक्रमको सञ्चालन गरेकी थिइन्। कार्यक्रममा विद्यालयका शिक्षक-शिक्षिका, कर्मचारी र विद्यार्थीहरूले भावपूर्ण वातावरणका बीच सहायक प्रधानाध्यापक चन्द को सुखद र दीर्घायु सेवा निवृत्त जीवनको कामना गरिएको थियो ।

​कार्यक्रममा बोल्दै सेवा निवृत्त शिक्षक महावीर चन्दले आफ्नो लामो शिक्षण पेशाका विविध उतारचढाव, अनुभव र अविस्मरणीय क्षणहरू साट्दै, आफ्नो जीवनको ऊर्जावान् समय शिक्षा क्षेत्र र विद्यार्थीको भविष्य निर्माणमा समर्पण गर्न पाएकोमा गौरव व्यक्त गरेका थिए। कार्यक्रमको एक विशेष र सुन्दर पक्ष, सह प्रधानाध्यापक चन्द का साथमा उनकी धर्मपत्नीलाई समेत मञ्चमा सँगै राखेर दुवै जनालाई गरिएको विशेष सम्मान थियो। एउटा पुरुषको सफलता र लामो व्यावसायिक यात्रालाई पूर्णता दिन उसको अर्धांगिनीको कति ठूलो त्याग र हात हुन्छ भन्ने कुरालाई यस क्षणले प्रष्ट पारेको थियो, जसको उपस्थित सबैले उच्च प्रशंसा गरेका थिए।

​समारोहको समापनपछि सेवा निवृत्त शिक्षक चन्दलाई विद्यालय परिवार, विद्यार्थी तथा उपस्थित सबैले साधारण रूपमा मात्र बिदा गरेनन्, बरु हर्षोल्लासका साथ बाजागाजासहित सम्मानको कदर गर्दै उनकै निवाससम्म पुर्‍याएका थिए। साथै विद्यालयका सम्पूर्ण शिक्षकहरूको तर्फबाट सुन्दर उपहार, मायाको चिनो प्रदान गरिनुका कक्षाका विद्यार्थीहरूले समेत आआफ्नो कक्षाको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए। विद्यालयले उहाँको योगदानको कदर गर्दै कदरपत्र तथा ‘मायाको चिनो’ प्रदान गरेको थियि। शिक्षा क्षेत्रमा जीवनको लामो कालखण्ड सुम्पिएका एक आदरणीय गुरुलाई समाज र विद्यालयले दिएको यो दुर्लभ र आत्मीय सम्मानले शिक्षण पेशाकै गरिमालाई थप उचाई दिएको छ।

यो समाचारसँग सम्बन्धित थप फोटोहरु यहाँबाट हेर्न सक्नुहुनेछ।

The post उदय मा.वि.का सहायक प्रधानाध्यापक महावीर चन्दको भव्य बिदाई: घरसम्मै बाजागाजासहित पुर्‍याइयो, जीवन संगिनीको योगदानको उच्च सम्मान appeared first on .

Copyright © All rights reserved. | Newsphere by AF themes.