सुदूरपश्चिमको बजेट ३७ अर्ब ७० करोड, प्रमुख प्रतिपक्षी दलकै अनुपस्थितिमा मध्यराति पेस, बजेटमा देखियो सांसदहरूको स्थानीय प्रभाव कायम राख्ने रणनीति
कञ्चनपुर: सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएको छ। आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले सोमबार मध्यरात प्रदेश सभामा प्रस्तुत गरेको यो बजेटमा पूर्वाधार विकासलाई मुख्य प्राथमिकताका रूपमा राखिएको छ।
बजेट मध्यरातसम्म रोकिनुमा सत्तारुढ दलहरूबीचकै आन्तरिक विवाद कारण बनेको बताइएको छ भने प्रतिपक्षी सांसदहरूले पनि बैठकस्थलमै उठेर विरोध जनाई बहिष्कार गरेका थिए। यही हंगामाका बीच मन्त्रालयगत कार्यक्रम तथा विवरण भने प्रस्तुत हुन सकेन। यसरी बजेट प्रस्तुतिको क्रममा भने प्रदेश सभामा तीव्र राजनीतिक तनाव देखियो। बैठक सुरु हुनेबित्तिकै प्रतिपक्षी दलका सदस्यहरू आ-आफ्नै स्थानमा उठेर विरोध जनाए।त्यसपछि सबै प्रतिपक्षी सांसद बैठक बहिष्कार गर्दै बाहिरिए, र अर्थमन्त्री धामीले प्रमुख प्रतिपक्षी दलको अनुपस्थितिमै बजेट पेस गरेका थिए।
ठूला र रणनीतिक आयोजनाहरूलाई जोड दिइएको भनिएको भए पनि बजेटमा संसदीय निर्वाचन क्षेत्र विकासका लागि उल्लेख्य रकम छुट्याइएको छ। मन्त्री धामीले कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएको जानकारी दिए। साथै प्रदेश सरकारका कर्मचारीहरूको तलब-भत्ता १० प्रतिशतले वृद्धि गर्ने घोषणा पनि गरिएको छ, जो प्रदेश सरकारी कर्मचारीका लागि उल्लेखनीय राहत हो। स्रोत व्यवस्थापनतर्फ आन्तरिक राजस्वबाट १ अर्ब ७२ करोड, संघीय राजस्व बाँडफाँटबाट १० अर्ब २४ करोड ९२ लाख ६६ हजार र संघीय रोयल्टी बाँडफाँटबाट ७ करोड रुपैयाँ प्राप्त हुने अनुमान छ।
वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ६ करोड ३३ लाख र अघिल्लो आर्थिक वर्ष २०८२/८३ को विनियोजनबाट बचत हुने ९ अर्ब ६५ करोड पनि स्रोतमा जोडिएको छ। यसैगरी सशर्त अनुदानबाट ६ अर्ब ३ करोड ५८ लाख, सम्पूरक अनुदानबाट ३८ करोड ८० लाख र विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने मन्त्री धामीले जानकारी दिएका छन्। प्रदेश सांसदहरूमार्फत स्थानीय स्तरका आयोजना सञ्चालन गर्न मात्रै ३ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरिएको छ। यसैगरी मानव विकास सूचकांक सुधारको लक्ष्यसहित शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि बजेट वक्तव्यमा प्राथमिकता दिइएको छ।
The post सुदूरपश्चिमको बजेट ३७ अर्ब ७० करोड, प्रमुख प्रतिपक्षी दलकै अनुपस्थितिमा मध्यराति पेस, बजेटमा देखियो सांसदहरूको स्थानीय प्रभाव कायम राख्ने रणनीति appeared first on .