June 22, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

कृष्णपुरमा ‘नागरिकसँग मेयर घरदैलो स्वास्थ्य जाँच अभियान’ सम्पन्न, ३६ हजारभन्दा बढीले लिए सेवा

कृष्णपुर :  कञ्चनपुरको कृष्णपुर नगरपालिकाद्वारा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित “नागरिकसँग मेयर घरदैलो कार्यक्रम तथा नसर्ने रोगको पहिचान अभियान” औपचारिक रूपमा समापन भएको छ। २०८३ असार ६ गते कृष्णपुर–०१, भेटघाट शिविरमा एक विशेष समारोहका बीच यस अभियानको समापन गरिएको हो। “स्वस्थ नागरिक, समृद्ध नगर—हाम्रो प्रतिबद्धता, तपाईँको साथ” भन्ने मूल नाराका साथ नगरपालिकाको स्वास्थ्य शाखाले नगरका स्वास्थ्य समस्याहरूलाई समयमै पहिचान गर्ने उद्देश्यले यो बृहत कार्यक्रम सञ्चालन गरेको थियो।

अभियान अन्तर्गत मुख्य गरी रक्तचाप (BP) जाँच, सुगर (Blood Sugar) जाँच, र पिसाबमा प्रोटिनको मात्रा (Urine Dipstick) परीक्षण जस्ता आधारभूत स्वास्थ्य सेवाहरू नागरिकको घरदैलोमै पुर्‍याएर आवश्यक सल्लाह सुझाव तथा परामर्श समेत प्रदान गरिएको थियो।

​समग्र उपलब्धि तथा तथ्याङ्क अनुसार, यस अभियानले नगरभित्रका कुल १३ हजार ८ सय ९४ घरधुरीलाई समेटेको छ, जसबाट जम्मा ३६ हजार ९ सय ५ सेवाग्राही प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। सेवा लिनेहरूमध्ये ५६.५ प्रतिशत (२०,८७०) महिला र ४३.५ प्रतिशत (१६,०३२) पुरुष रहेका छन्। स्वास्थ्य परीक्षणका मुख्य सूचकहरूलाई हेर्दा, जम्मा ३६ हजार ८ सय ११ जनाको रक्तचाप परीक्षण गरिएकोमा १ हजार ८१ जनामा उच्च रक्तचाप (High BP) फेला परेको छ। त्यसैगरी, ६ हजार ५ सय ७५ जनाको ब्लड सुगर परीक्षण गर्दा ८ सय १९ जनामा सुगरको मात्रा बढी देखिएको छ भने ५ हजार हजार ८० जनाको पिसाब परीक्षण गर्दा ३ सय ८६ जनामा सुगर, २ सय ५२ जनामा प्रोटिन र ६ सय ३१ जनामा पीएच (PH) को समस्या पहिचान भएको छ। दैनिक प्रतिवेदन तालिकाले देखाए अनुसार ज्येष्ठ महिनाका विभिन्न तिथिहरूमा वडागत रूपमा टोली खटिएर यी परीक्षणहरू निरन्तर रूपमा सम्पन्न गरिएका थिए।

​यसका साथै, स्थानीय क्षेत्रमा जनस्वास्थ्यको चुनौतीका रूपमा रहेको सिकलसेल (Sickle Cell) रोगको अवस्था पहिचान गर्न ४ हजार १ सय ८२ जनाको जाँच सम्पन्न गरिएको छ भने ३ हजार ४ सय २२ जनाको जाँच गर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ। अभियानका क्रममा १ वर्ष मुनिका ६ सय ५१ बालबालिका तथा ४ सय ६१ सुत्केरी महिलाको स्वास्थ्य अवस्थाको समेत अनुगमन गरिएको थियो, जसमा घरमै सुत्केरी हुनेको संख्या शून्य पाइएको छ, जसले संस्थागत सुत्केरीको सकारात्मक अवस्थालाई दर्शाउँछ।

कार्यक्रमले विपन्न नागरिक उपचार (मासिक रु. ५,०००) सम्बन्धी स्वास्थ्य अवस्थाबारे ४२ जनालाई जानकारी गराएको छ भने क्षयरोग, कुष्ठरोग र औलो जस्ता अन्य सम्भावित सरुवा रोगका लक्षण भएका २३ जना बिरामीहरू फेला पारेको छ। समयमै जाँच र सही पहिचान गरी नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन सचेतना जगाउँदै यो अभियान कृष्णपुर नगरवासीका लागि निकै फलदायी बनेको स्वास्थ्य शाखाले जनाएको छ।समाचारसँग सम्बन्धित फोटो तथा अन्य भिडियोहरू कञ्चन मिडियाको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

The post कृष्णपुरमा ‘नागरिकसँग मेयर घरदैलो स्वास्थ्य जाँच अभियान’ सम्पन्न, ३६ हजारभन्दा बढीले लिए सेवा appeared first on .

Copyright © All rights reserved. | Newsphere by AF themes.