September 17, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

बाल अधिकार र किशोरी सशक्तीकरणको मुद्दा बोकेर अमेरिका जाँदै बेलौरीकी कक्षा १० कि छात्रा स्वर्णिमा

बेलौरी: कञ्चनपुरकी एक मेधावी विद्यार्थी छात्रा स्वर्णिमा कँडेल संयुक्त राष्ट्र संघको ८१औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने भएकी छिन्। बेलौरी नगरपालिका–४ शान्तिपुर निवासी तथा उग्रतारा बाल विद्यालयको कक्षा १० मा अध्ययनरत कँडेल युनिसेफ नेपालकी युवा अधिवक्ता हुन्। उनी यही सेप्टेम्बर २१ देखि २५ सम्म न्युयोर्कमा हुने विश्वस्तरीय यस महाकुम्भमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुँदैछिन्।

​अमेरिका जानुअघि बिहीबार विद्यालयले एक विशेष बिदाइ कार्यक्रमको आयोजना गरी उनलाई सफलताको शुभकामनासहित विदाइ गरेको छ। तय गरिएको तालिका अनुसार उनी शुक्रबार बेलौरीबाट काठमाडौं हुँदै अमेरिकातर्फ प्रस्थान गर्नेछिन्।

​विद्यालयकाप्रधानाध्यापक केशव सिंह बिष्टका अनुसार, बालबालिकाको अधिकारको प्रवर्द्धन, किशोरी सशक्तीकरण र युनिसेफका अभियानहरूमा उनको सक्रिय नेतृत्व र योगदानको मूल्याङ्कन गर्दै उनलाई यो अवसर जुुरेको हो। यस महासभाको दौरानमा उनले विश्वभरका युवाहरूसँग छलफल गर्नुका साथै बालबालिका र किशोरीका अधिकार तथा कल्याणका विषयमा आफ्ना बुलन्द विचारहरू प्रस्तुत गर्नेछिन्।

​स्वर्णिमाको यो गौरवमय सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र विशेष गरी बेलौरी क्षेत्रको पहिचानलाई अझ उचाइमा पुर्याउने विश्वास गरिएको छ।

The post बाल अधिकार र किशोरी सशक्तीकरणको मुद्दा बोकेर अमेरिका जाँदै बेलौरीकी कक्षा १० कि छात्रा स्वर्णिमा appeared first on ✍️कञ्चन मिडिया📸.

Copyright © All rights reserved. | Newsphere by AF themes.