रसुवा भोटेकोशी बाढी पीडितको सहयोगार्थ लालझाडी र कृष्णपुरमा आर्थिक सहयोग अभियान सुरु
सुनिल ऐर, कञ्चनपुर — विपद्को कठिन घड़ीमा मानवीय सेवा नै ठूलो धर्म हो भन्ने भावनाका साथ कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका वडा नं. ५ र कृष्णपुर नगरपालिका वडा नं. ३ को संयुक्त समन्वय तथा पहलमा ‘रसुवा भोटेकोशी बाढी पीडित सहयोग अभियान-२०८३’ सुरु गरिएको छ। रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण ठूलो धनजनको क्षति भई प्रभावित भएका पीडित परिवारजनको घाउमा मलम लगाउने उद्देश्यले यो अभियान सञ्चालनमा ल्याइएको हो।
यस अभियान अन्तर्गत कृष्णपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष खेमराज चौधरी, लालझाडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष पहल बहादुर थापा लगायत कृष्णपुर ३ का वडा सदस्य भीमराज जोशी लालझाडी गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य गोकर्ण सिंह धामी, शान्ति सार्की र वडा सदस्य राममती राना लगायत लालझाडी गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य लवदेव राना र साबिक देखतभुली का भलमान्सा भिर राज राना, सिद्धनाथ सामुदायिक वनका अध्यक्ष अनिल राना र जय दुर्गे सामुदायिक वनका अध्यक्ष रामदास राना र नेपाल कम्युनिस्ट पार्टीका युवा नेता उमेश राना विभिन्न संघसंस्थामा आबद्ध युवा र लालझाडी ५ का थुप्रै युवाहरु लगायतको उपस्तिथिमा कार्यक्रमको सुरुवात गरिएको छ ।
अभियानका संयोजकहरूमा कृष्णपुर नगरपालिका वडा नं. ३ र लालझाडी गाउँपालिका वडा नं. ५ का कार्यालयहरूसँगै सम्पूर्ण सामुदायिक वन उपभोक्ता समूहहरू, भलमन्सा (बड्घर) समाज, युवा तथा बाल क्लबहरू, तथा स्थानीय संघसंस्था, उद्यमी र समाजसेवी समूहहरू रहेका छन्।
आयोजकका अनुसार यस अभियानमार्फत संकलित शतप्रतिशत रकम सोझै वास्तविक बाढी पीडित परिवारहरूकहाँ पुर्याइनेछ। विपद्को यस संकटपूर्ण समयमा यहाँहरूको सानो सहयोगले पनि कसैको जीवनमा ठूलो सहारा बन्न सक्ने विश्वास लिँदै, सम्पूर्ण समाजसेवी, बुद्धिजीवी, उद्यमी, व्यवसायी, संघसंस्था तथा सहयोगी मनहरूलाई यस मानवीय कार्यमा स्वेच्छिक आर्थिक सहयोगका लागि हार्दिक अपील समेत गरिएको छ।
The post रसुवा भोटेकोशी बाढी पीडितको सहयोगार्थ लालझाडी र कृष्णपुरमा आर्थिक सहयोग अभियान सुरु appeared first on ✍️कञ्चन मिडिया📸.
