September 21, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

देखतभूलीका रसुवा र भोटेकोशीका बाढीपीडितका लागि सुनौलो बाल क्लबको राहत अभियान

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नम्बर ३ मा रहेको सुनौलो बाल क्लबले हालै रसुवा र भोटेकोशी क्षेत्रमा गएको बाढी तथा विपद बाट पीडित भएका परिवारहरूको सहयोगका लागि वडाभरि राहत रकम संकलन अभियान सफलतापूर्वक सम्पन्न गरेको छ। कृष्णपुर नगरपालिका वडा नम्बर ३ को कार्यालयबाट औपचारिक अनुमति लिएर सञ्चालन गरिएको यो राहत संकलन अभियानमा क्लबका अध्यक्ष प्रशान्त बहादुर खत्रीको नेतृत्व रहेको थियो। आज असोज ३ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म चलेको यस अभियानमा झन्डै २०-२५ जना बालबालिकाहरूको अभूतपूर्व सहभागिता रहेको थियो। अभियानबाट संकलित करिब २७ हजार रुपैयाँ देखतभूलीका बाढी पीडितहरूलाई प्रदान गरिने बताइएको छ ।

​आजको समयमा धेरैजसो युवा तथा बालबालिकाहरू लागूऔषध दुर्व्यसनजस्ता नकारात्मक कुलतमा फस्दै गएको अवस्थामा एउटा बालबालिकाको संस्थाले यति ठूलो सामाजिक कार्यको नेतृत्व गर्नु अत्यन्तै प्रशंसनीय र सराहनीय विषय बनेको छ। देशमा विपत्ति र संकट आइपरेको बेला बालबालिकाहरू आफैँ सडकमा निस्केर सक्रिय हुनुले उनीहरूको उच्च सामाजिक चेतना र राष्ट्रप्रति जिम्मेवारी बोध स्पष्ट पारेको छ। यस अभियानले ‘एकलाई पीडा पर्दा हजारौं हामी छौं’ भन्ने भावनालाई आत्मसात गर्दै समाजमा एकता र मानवीय सद्भावको गतिलो सन्देश दिएको छ। बाल क्लबको यस कार्यमा स्थानीय जनप्रतिनिधिहरूले पनि राहत संकलनमा ऐक्यबद्धता जनाउँदै जुटेका कारण पीडित परिवारहरूलाई राहत सामग्री पुग्न सक्ने बलियो सम्भावना देखिएको छ।

​सुनौलो बाल क्लबका अध्यक्ष प्रशान्त बहादुर खत्री नन्द मा वी विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दीपक बहादुर खत्रीका छोरा हुन्। सानै उमेरदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएका प्रशान्तको नेतृत्वमा यसअघि पनि वडामा लागूऔषध न्यूनीकरणसम्बन्धी सचेतना, विभिन्न सार्वजनिक स्थलहरूको सरसफाइ तथा बालबालिका लक्षित विभिन्न चेतनामूलक कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन हुँदै आएका छन्।

बालबालिकाको यो जागरुकता र राष्ट्रप्रतिको समर्पणले भविष्यमा देशलाई सकारात्मक रूपान्तरण गर्न सकिने गतिलो आधार तयार पारेको छ। सुनौलो बाल क्लबले आगामी दिनहरूमा पनि राष्ट्रलाई जुनसुकै समस्या वा विपद पर्दा अग्रपंक्तिमा रहेर यस्तै महत्वपूर्ण भूमिकाहरू निर्वाह गरिरहने प्रतिबद्धता जनाएको छ।

The post देखतभूलीका रसुवा र भोटेकोशीका बाढीपीडितका लागि सुनौलो बाल क्लबको राहत अभियान appeared first on ✍️कञ्चन मिडिया📸.

Copyright © All rights reserved. | Newsphere by AF themes.