खेलकुदको उर्वराभूमि बनाउने लक्ष्य बोकेका, कञ्चनपुर खेलकुदका नयाँ सारथी, को हुन ज्ञानेन्द्र बहादुर सिंह..
हिजो चैत्र ७ गते सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्यहरू, युवा परिषद्का सदस्यहरू र सुदूरपश्चिम भरिका ९ वटै जिल्ला खेलकुद समितिका अध्यक्षहरूले सामाजिक विकास राज्य मन्त्री सरस्वती खड्का सामु मन्त्रालयमा शपथ ग्रहण गरेका छन्। सोही अवसरमा कञ्चनपुर जिल्लामा भने खेलकुद समितिको नेतृत्व सम्हाल्दै ज्ञानेन्द्र बहादुर सिंहले पदभार ग्रहण गरेका छन। आफ्नो कार्यकाललाई केवल पदको निरन्तरतामा सीमित नराखी नतिजामुखी बनाउने र कञ्चनपुरलाई खेलकुदको ‘हब’का रूपमा विकास गर्ने अठोट व्यक्त गरेका सिंहको यो यात्रा आकस्मिक भने थिएन।

खेल क्षेत्रप्रतिको उनको लगाव, सांगठनिक कुशलता र विगतको अनवरत सक्रियताले नै उनलाई आज यो जिम्मेवारीसम्म पुर्याएको हो। यसरी जिल्लाको गरिमामय जिम्मेवारी सम्हाल्न पुगेका सिंह कसरी यहाँसम्म पुगे, विगतको योगदान, विभिन्न संघ-संस्थामा उहाँको भूमिका र आबद्धता बारे बुझौं ।

ज्ञानेन्द्र बहादुर सिंह सुदूरपश्चिमको कञ्चनपुर जिल्ला, शुक्लाफाँटा नगरपालिका वडा नं. ७, कालापानी निवासी एक प्रभावशाली र अनुभवी सामाजिक तथा राजनीतिक व्यक्तित्व हुन। झण्डै डेढ दशक (१४ वर्ष) देखि राजनीति, खेलकुद, वन वातावरण संरक्षण र सामुदायिक विकासको क्षेत्रमा अनवरत रूपमा क्रियाशील सिंहले आफूलाई एक सफल रणनीतिकार र कुशल नेतृत्वकर्ताको रूपमा स्थापित गरेको छ। वि.सं. २०३६ सालमा जन्मिएका सिंह सँग समाजका विभिन्न तह र तप्कालाई जोड्ने र सकारात्मक परिवर्तनका लागि नेतृत्वदायी भूमिका खेल्ने क्षमता रहेको बुझ्न सकिन्छ।

सिंहको राजनीतिक यात्रा विशेष गरी नेपाली कांग्रेस र यसका भ्रातृ संगठनहरूसँग जोडिएको छ। हाल उनी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको सदस्य तथा ‘युवा तथा खेलकुद विभाग’को संयोजक जस्तो महत्त्वपूर्ण जिम्मेवारीमा रहेर प्रदेशभरिका युवाहरूलाई मार्गनिर्देश गरिरहेका छन। यसअघि नेपाली कांग्रेसकै केन्द्रिय खेलकुद विभागको केन्द्रिय सदस्य र शुक्लाफाँटा नगरपालिकामा नेपाल तरुण दलको कार्यवाहक अध्यक्ष भएर काम गरिसकेका छन। उनको यो अनुभवले नीतिगत योजना बनाउन र त्यसलाई तल्लो तहसम्म कार्यान्वयन गर्ने सक्षमतालाई प्रष्ट पार्दछ ।

अर्कोतर्फ खेलकुद क्षेत्रको विकास र बिस्तारमा सिंहको योगदान अतुलनीय छ। कञ्चनपुर जिल्ला खेलकुद विकास समितिको पूर्व उपाध्यक्ष भइसकेका उनले जिल्ला तहका विभिन्न खेलकुद संघहरूको नेतृत्व गरिसकेका छन। विशेष गरी मार्सल आर्ट्सतर्फ कञ्चनपुर जिल्ला तेक्वान्दो संघमा दुई कार्यकाल अध्यक्ष र कञ्चनपुर जिल्ला लन टेनिस संघमा १२ वर्षसम्म लामो समय अध्यक्ष पदमा रहेर खेल र खेलाडीको उत्थानमा महत्वपूर्ण भूमिका खेलिसकेका छन्। यसका साथै कञ्चनपुर जिल्ला बुदोकाइदो संघमा सल्लाहकारको रूपमा आफ्नो विशेषज्ञता प्रदान गरीसकेका छन।

केवल राजनीति र खेलकुदमा मात्र सीमित नभई सिंहको प्राकृतिक सम्पदाको जगेर्ना र शैक्षिक गुणस्तर सुधारमा पनि उत्तिकै चासो छ। उनी मध्यवर्ती वातावरण तथा सामुदायिक वन उपभोक्ता समूहको पूर्व सदस्य पनि हुन, जसले पर्यावरण संरक्षणप्रतिको लगावलाई दर्शाउँछ। शिक्षा क्षेत्रतर्फ धर्म जनता उच्च माध्यमिक विद्यालय, स्टेशनपुरमा पूर्व सल्लाहकारको रूपमा रहेर उनले स्थानीय शैक्षिक विकासमा मार्गदर्शन प्रदान गरेका छन।

समग्रमा, ज्ञानेन्द्र बहादुर सिंह एक यस्तो व्यक्तित्व हुनुहुन्छ जोसँग परियोजना व्यवस्थापन, नीति पैरवी, र जनसम्पर्कको व्यापक अनुभव छ। सामुदायिक विकास र युवा सशक्तीकरणका लागि उनले खेलेको भूमिकाले उनलाई समाजको एक भरोसायोग्य र दूरदर्शी नेताको रूपमा उभ्याएको छ। यी सबै कुराबाट बुझ्दा उनको जीवनको मुख्य लक्ष्य भनेकै दिगो विकासका लागि व्यावहारिक समाधानहरू खोज्नु र समाजलाई समृद्धिको बाटोमा अगाडि बढाउनु नै हो भन्दा अतियुक्ति नहोला ।
The post खेलकुदको उर्वराभूमि बनाउने लक्ष्य बोकेका, कञ्चनपुर खेलकुदका नयाँ सारथी, को हुन ज्ञानेन्द्र बहादुर सिंह.. appeared first on .