June 22, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

कञ्चनपुरमा आरक्ष पीडित आक्रोशित, अर्धनग्न प्रदर्शनसहित २४ वर्षे अन्यायको हिसाब माग्दै आन्दोलित

महेन्द्रनगर: शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विगत २४ वर्षअघि विस्थापित भएका पीडितहरूले राज्यले आफूहरूलाई लामो समयसम्म उपेक्षा गरेको भन्दै आज जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मूल गेट अगाडि उत्रिएर अर्धनग्न प्रदर्शनसहित उग्र विरोध जनाएका छन्।

जिल्ला संघर्ष समितिको नेतृत्वमा भेला भएका आन्दोलनकारीहरूले आफ्नो पीडा र आक्रोश व्यक्त गर्दै राज्यलाई झकझक्याउन लुगा फुकालेर प्रदर्शन गरेका हुन्, जसमा उनीहरूले आफूहरूलाई आफ्नै देशमा शरणार्थी बनाइएको भन्दै “हाम्रो माग पूरा गर, अन्यथा आन्दोलन रोकिँदैन” भन्ने कडा चेतावनी समेत दिएका छन्।

पीडितहरूले मुख्य रूपमा प्रत्येक परिवारलाई कम्तीमा १० कठ्ठा जग्गा उपलब्ध गराएर सम्मानजनक रूपमा पुनस्र्थापना गरिनुपर्ने, विगत दुई दशकभन्दा बढी समयदेखि झेल्दै आएको आर्थिक र मानसिक क्षतिको उचित मुआब्जासहित २४ वर्षकै क्षतिपूर्ति पाउनुपर्ने, र उनीहरूको बसोबासलाई व्यवस्थित बनाउन सबै पीडितहरू समेटिने गरी एउटै छुट्टै वडा घोषणा गरिनुपर्ने माग अघि सारेका छन्।

यसका साथै, शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता आधारभूत आवश्यकताहरूको पूर्ण नि:शुल्क ग्यारेन्टी गरिनुपर्ने र राज्यको नीति नियममा आरक्ष पीडितहरूलाई पनि ‘द्वन्द्व पीडित’ सरहको मान्यता र सेवा सुविधा प्रदान गरिनुपर्ने उनीहरूको अडान रहेको छ,  लामो समयदेखि जारी रहेको यो मानवीय संकटको स्थायी र न्यायपूर्ण समाधान हुन सकोस्।

The post कञ्चनपुरमा आरक्ष पीडित आक्रोशित, अर्धनग्न प्रदर्शनसहित २४ वर्षे अन्यायको हिसाब माग्दै आन्दोलित appeared first on .

Copyright © All rights reserved. | Newsphere by AF themes.