संसारबाट भागेर आफैँलाई घरभित्र बन्दी बनाउने मैले देखेको एकेन्द्र को कथा
“बच्चा हुँदा आमा गुमाउनु र वैवाहिक जीवनमा श्रीमतीले झगडा गरी सधैँका लागि छाडेर जानु, यो भन्दा तनावपूर्ण कुरा जिन्दगीमा अरु के हुन सक्ला र ।”
भरत थापा, कञ्चनपुर:
एकेन्द्र चाड ती अभागी मनुवा, जसले जीवनमा अभाव र संघर्ष मात्र भोगेनन, जिन्दगीले यति नराम्रो सम्म हुलिया टाइट गरिदियो…, जिन्दगीको वाट लगाइदियो… अझ के के भन्छन् के के.. ती कुराहरू मैले बोल्न लेख्न नजान्दा.., प्रिय पाठकसामु जस्ताको तस्तै वर्णन गर्न नसक्दा म कैयौँ चोटी सम्झी सम्झी रोएको छु। यो बोलिरहँदा लेखिरहदा.. मेरा आँखा कयौं पटक रसाएर पोखिन खोजेका छन्। कसम मैले ढाटिन.. झुट बोलीन..।
“श्रीमतीले छोडेपछि जिउँदो लास बनेका एकेन्द्र: गिट्टी कुट्ने हातहरू कसरी पुगे पुनःस्थापना केन्द्रको बन्द कोठामा ?”
म आफूलाई आज पनि याद छ ती दिनहरू जुन दिन उनका श्रीमान श्रीमती बिहान सबेरै नदीमा गिट्टी कुट्न जान्थे, र त्यही गिट्टी फुटाएर त्यसलाई बेचेर आफ्नो श्रीमान श्रीमती र एक छोराको परिवारका लागि खर्च जुटाउने गर्दथे। हाम्रो जस्तो बेरोजगारी भएको देशमा ती दिनहरूमा एकेन्द्र चाडले भारतमा मजदुरी गरेर समेत घरपरिवार चलाएका थिए। तर थाहा छैन के कुरामा श्रीमान श्रीमतीबीच सामान्य झगडा र ठाकठुक पर्छ। सायद केही दिन बोलचाल बन्द हुन्छ तर एकदिन यस्तो आउँछ जुन दिन श्रीमतीले आफ्नो घर, श्रीमान र चार/पाँच वर्षको छोरालाई छोडेर आफ्नो श्रीमानसँग सरसल्लाह नगरी भारततर्फ लाग्छिन्। त्यही दिनदेखि सुरु हुन्छ एकेन्द्र चाडको जिन्दगीका नराम्रा दिनहरू ।
सायद यो घटनाले एकेन्द्र चाडको मानस पटललाई नराम्ररी खलबलाई दिन्छ। अब छोरा आफ्नो र पुरै घरको कामकाज तथा जिम्मेवारी सम्हाल्न नसकेर होला सायद, उनी छोरासँग पनि झर्कने, रिसाउने पिट्ने गर्दछन । तर बिचरा त्यो अबोध बालकलाई पनि के थाहा की उसको बुबाले यी सब कुराहरू एक्कासि किन गर्दैछ भनेर … केही समयपछि श्रीमती इन्डिया बाट महेन्द्रनगर बजारसम्म आइन र आफ्नो छोरालाई लगेर गइन् भन्ने कुरा सुनिन्छ । त्यसपछि त एकेन्द्रले झन् आफूलाई त्यो घरभित्रै बन्दी जस्तै बनाए । पुरै संसार देखीआफूलाई एक्लो बनाएर आफैले आफैलाई सजाय दिन थाले, घरभित्रबाट पटक्कै बाहिर निस्केनन्। कसैसँग बोल्न र भेट गर्न पटक्कै छोडिदिए।
“घाउ त तनमा होइन मनमा थियो हजुर ! ४ वर्षको छोरा र रित्तो घर छोडेर श्रीमती भारत लागेर अर्कैकी भए पछि एकेन्द्रको बर्बादी जीवनका दशकौँ वर्ष बिते..”
बिस्तारै समय आफ्नो गतिमा अगाडि बढ्दै थियो। तर दिनरात के हुँदैछ.. कति समय गयो.. उनलाई त्यो कुराको कुनै पर्वाह थिएन। उनी यतिसम्म बे-लापरवाह बनिसकेका थिए कि उनलाई भोक तिर्खा केही थाहा थिएन, अवस्था बुझ्न एकदिन मेरो भाइ उनको घरमा जाँदा भाइले बताए अनुसार, कराइमा कट्टामा बचेको थोरै पिठो ल्याएर त्यसमा पानी खन्याएर, खाइरहेका देखिन्थे। घरको वरिपरि नै दिशापिसाब फोहोरीपन र पुरै अस्तव्यस्तता, यी कुराहरु हेर्दा, उनको जिन्दगीको बर्बरताको स्थितिको सहजै अनुमान लगाउन सकिन्थ्यो। उनको हृदयमा परेको त्यो चोटले उनको दिमागलाई पीडाको एउटा गहिरो खाडलमा धकेलिसकेको जस्तो भान हुन्थ्यो। जुन खाडलबाट उनलाई माथि चढ्न उनले आफ्नो ओजपूर्ण जवानी जिन्दगी को महत्त्वपूर्ण मूल्य चुकाएर पनि निस्कनै नसक्ने गरी भासिएका थिए। अब त घरभित्रको खानेकुरा पनि सबै सकिसकेको थियो।
समय बित्दै श्रीमतीको इन्डिया मा अर्कै संग बिहे भइसकेको छ । बुवा आफै अपाङ्ग हिँड्न नसक्ने उनको सहारा को बनि देओस् , आमा त झन् उनी सानै, ६-७ वर्षको उमेर छँदै भगवानले आफ्नो घर बोलाइसकेका थिए। सायद ति विचारा बुढा बाजे बज्यै पनि नहुदा हुन त, उनको जीवन कहिले सकिसकेको हुन्थ्यो । साँझ बिहानको दुई छाक दिएर तिनै बाजे-बज्यैले यो म”रिसकेको जिउँदो मान्छेको लासको सास, अहिलेसम्म रोकिराखेका थिए।
अब त यस्तो अवस्था आएको थियो कि उनको घरबाट बाजे बज्यैको घर मात्रै २००/३०० मिटर टाढा थियो। तर पनि उनलाई त्यहाँ पुग्न दुई तीन घण्टाभन्दा बढी लाग्थ्यो। जङ्गल किनारको बाटो, बाटोमा कोही मान्छे आउँदा झस्किएर उनी फेरि हिँड्थे र साइड लाग्थे भने एक्लै हुँदा बारबार झोक्राएर आधा एक घण्टा जति त्यही उभिन्थे, कुनै रुवाउने मार्मिक फिल्म, कहानी भन्दा कम पीडादायी थिएन उनको उदेग लाग्दो, निराश लाग्दो जिन्दगी। जुन कुरा म चाहेर पनि यहाँ वर्णन गर्न सक्दिन ।
“अपाङ्ग बुबा र बाल्यकालमै स्वर्गीय भएकीआमाको त्यो छुट्टिएर बसेको एक्लो अभागी छोरो, जस्को अवस्था देख्ने जो कोहीको आँखाबाट आँसु खस्छ…”
बिन्ती छ, यसरी यी कुरा पढीरहदा नसराप्नुहोला कसैलाई, कसैले आफूले थोरै चाहेर पनि उनका लागि कठै भन्न बाहेक अरु के गर्ने भन्ने कुरो कसैको दिमागमा आइरहेको थिएन । किनकि घाउ त तनमा थिएन हजुर। मनमा थियो। दिल दिमाग र हृदयमा गहिरो चोट र पीडाको खाडल बनाई बसेको थियो। उनी आफैंले आफ्नो “एकेन्द्र” नामलाई आफैंले रोजी “एकल चाड” बनाई लेखेको मैले कहिँ देखेको थिएँ। आज परिस्थितिले त्यही हाल बनाइ दिएको छ ।
तर पनि उनको लागि नै भनेर एकेन्द्र चाड बचाउ अभियान सञ्चालन गरियो । करिब एक डेढ लाख जति पैसा सङ्कलन गरियो। सदरमुकामका नामि कहलिएका अस्पतालहरूमा देखाइयो। तर केही फाइदा हुन सकेन र अन्त्यमा उनलाई धनगढीको “पहिलो आरम्भ” भन्ने पुनर्स्थापना केन्द्रमा लगेर राखियो। जहाँ उनको जिन्दगीको स्वर्णिम बन्नुपर्ने उमेरको तीन वर्ष समय खर्च भइसकेको छ । तर यो उनको जीवन रक्षाका लागि चालिएको एउटा बाध्यता र ओखती थियो।
दिन, महिना, वर्ष हुँदै दशक बिते। समयले घाउहरू बिस्तारै पुर्छ भन्छन् तर पनि अवस्थामा खासै सुधार हुन सकेन। उनको मानसिक अवस्था बिग्रेको पनि होइन । बस, क्षेदविक्षेत र विक्षिप्त बनेको छ। भन्नेले त उनलाई डिप्रेसनमा गएको भनी बुझ्दछन् । उनले दशकौँ पहिले भेटेका मान्छेहरू पनि चिन्दछन् । आफन्त र नजिकका मान्छेलाई देख्ने बित्तिकै ढोग गर्दछन् । अनुहारमा एउटा सुस्क, उदेग लाग्दो बनावटी हाँसो हाँस्ने कोसिस गर्दछन्। कुराकानी गर्दा छोटो उत्तर अं, नाई भन्दछ्न। तर पनि शरीरमा ऊर्जा छैन, आत्माबल छैन। छ त केवल अभाव अनि चारैतिर अभाव मात्र… उनलाई आवस्यकता छ अहीले एउटा बलियो हौसला, साथ, आत्मीयता अनि तपाईं हाम्रो… ।
उनले अहिले पुनर्स्थापना केन्द्रमा लगभग तीन लाख जति तिर्न बाँकी छ। अभियानको पैसा पनि सकिँदा, र विकल्प नहुँदा त्यहाँ राख्ने मानिसहरू सम्पर्कमा आउन नचाहेको पहिलो आरम्भका संस्थापकको ठम्याई छ। अहिले उनको जिन्दगीको मूल्य, बाटामा फालिएको ढुङ्गा जस्तै भएको छ। अब उनीसँग सम्पत्तिको नाममा आधा भत्किएको त्यो थोत्रो घर र आधा एक कठ्ठा सम्म जमिन छ । त्यही बेचेर भएपनि अब उनलाई अहिलेको पुनर्स्थापना केन्द्रबाट निकालेर त्यस्तै निःशुल्क रूपमा राख्न सकिने अन्य कुनै संघसंस्थासँग समन्वयका लागि पहल गर्नुको सायद विकल्प छैन। अमूल्य मानव सेवामा दिनरात नभनी निस्वार्थ रूपमा सेवा सहयोग गरिरहनुभएका ती महान समाजसेवी ज्यूहरू तथा संघसंस्थाहरुलाई एकेन्द्र चाडको यो समस्या ग्रस्त जिन्दगीको जीवन यात्रामा सहजता ल्याउन पहल गरी गराइ ठूलो धर्म निभाइदिन हुन सम्बन्धित सरोकारवालाहरूलाई विनम्रताका साथ हार्दिक अनुरोध गरेका छौं।।

