June 22, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

कृष्णपुर नगरपालिकाका विभिन्न वडामा बैशाख १६ देखि १८ सम्म डिजिटल AI X-Ray मार्फत निःशुल्क क्षयरोग चेक जाँच शिविर सञ्चालन हुने

कृष्णपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका स्वास्थ्य शाखाले नागरिकको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकता दिँदै आधुनिक प्रविधिमा आधारित ‘डिजिटल AI X-Ray’ मार्फत निःशुल्क क्षयरोग (TB) जाँच तथा पहिचान शिविर सञ्चालन गर्ने भएको छ। नगरपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित यो विशेष स्वास्थ्य अभियान आगामी २०८३ वैशाख १६ गतेदेखि १८ गतेसम्म नगरका विभिन्न तीनवटा केन्द्रहरूमा बिहान ९:०० बजेदेखि सञ्चालन हुने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।

जसअनुसार वैशाख १६ गते वडा नं. ६ स्थित आ. स्वा. के. मौरीफाँटा, वैशाख १७ गते वडा नं. ४ को आ. स्वा. के. सहारानगर र वैशाख १८ गते वडा नं. २ को ग्वालाबारी सामुदायिक वनको प्राङ्गणमा शिविर सञ्चालन हुनेछ।

​यस शिविरको मुख्य उद्देश्य समुदायस्तरमा लुकेर रहेका क्षयरोगीहरूको पहिचान गरी उनीहरूलाई समयमै उपचारको दायरामा ल्याउनु रहेको छ। स्वास्थ्य शाखाले सार्वजनिक गरेको जानकारी अनुसार, यदि कसैलाई दुई हप्ता वा सोभन्दा बढी समयदेखि लगातार खोकी लागिरहेको छ, साँझपख हल्का ज्वरो आउने र राति पसिना आउने समस्या छ, खकारमा रगत देखा पर्ने, छाती दुख्ने, सास फेर्न कठिनाइ हुने वा खान मन नलागी शरीरको तौल लगातार घटिरहेको छ भने त्यस्ता व्यक्तिहरूले अनिवार्य रूपमा शिविरमा सहभागी भई परीक्षण गराउनुपर्नेछ।

​शिविरमा डिजिटल एक्स-रे प्रविधिबाट तुरुन्तै फोक्सोको अवस्था जाँच गरिनेछ र यदि रिपोर्टमा कुनै पनि प्रकारको शंकास्पद दाग देखिएमा त्यस्ता बिरामीको थप सुनिश्चितताका लागि तत्कालै निःशुल्क खकार (Sputum) परीक्षण समेत गरिने व्यवस्था मिलाइएको छ। स्वास्थ्य शाखाले यदि परीक्षणको क्रममा क्षयरोग पुष्टि भएमा बिरामीले आत्तिनु नपर्ने र सरकारी स्वास्थ्य संस्थामार्फत पूर्ण रूपमा निःशुल्क औषधि तथा नियमित परामर्श सेवा उपलब्ध गराइने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

​कार्यक्रमलाई व्यवस्थित बनाउन नगरपालिकाले विभिन्न जिम्मेवार व्यक्तिहरूलाई सम्पर्क सूत्रको रूपमा तोकेको छ, जसमा क्षयरोग संयोजक दीपक रावल (९८४८४१२६४६), पशुपति बिष्ट (९८६५६६१०६७), दानसिंह कार्की (९८६४८४२५५०), शारदा जोशी (९८६५१९८९९९) र भुबनी भट्ट (९८४८८६४१७५) रहेका छन। “समयमै रोग पहिचान गरौं, स्वस्थ रहौं” भन्ने मूल नाराका साथ आयोजना गरिएको यस बृहत् शिविरमा सहभागी भई आफ्ना स्वास्थ्य समस्या समाधान गर्न र क्षयरोगमुक्त समाज निर्माणको अभियानमा सहयोग पुर्‍याउन कृष्णपुर नगरपालिकाले सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरेको छ।

स्वास्थ्य शाखाले योभन्दा अगाडि पनि बेलाबेलामा यो कार्यक्रम निःशुल्क रुपमा सञ्चालन गरी समुदायमा रहेका क्षयरोगीहरूको जाँच पड्ताल गरी स्वास्थ्य उपचार दिँदै आएको छ।

The post कृष्णपुर नगरपालिकाका विभिन्न वडामा बैशाख १६ देखि १८ सम्म डिजिटल AI X-Ray मार्फत निःशुल्क क्षयरोग चेक जाँच शिविर सञ्चालन हुने appeared first on .

Copyright © All rights reserved. | Newsphere by AF themes.